पानी नपर्दा यस वर्ष चितवनमा धान रोपाइ क्षेत्र घट्यो

चितवन समाचार डटकम
२७ साउन ।

प्रसस्त पानी नपर्दा यस वर्ष चितवनमा धान रोपाइको क्षेत्रफल घटेको छ ।
यही समयमा गएको वर्ष ९५ प्रतिशत रोपाइ हुने गरेकोमा अहिले ८० देखि ८५ प्रतिशत क्षेत्र मात्र रोपाइ भएको छ । कृषि ज्ञान केन्द्र चितवनका बाली विकास अधिकृत माधव पौडेलले भन्नु भयो ‘रोपाइ हुने गरी जिल्लामा पानी नपर्दा यस वर्ष क्षेत्रफल घटेको छ ।’ पूर्वी चितवनमा ९० देखि ९५ प्रतिशत रोपाइ भएको छ उहाले भन्नु भयो ‘पश्चिम चितवनमा भने घटेर ८० देखि ८५ प्रतिशत छ ।’
सतह सिचाइको व्यवस्था नहुनु, भूमि सिचाइले सबैलाई पुरा गर्न नसक्नुले गर्दा यस वर्ष रोपाइको क्षेत्रफल घटेको उहाले जानकारी दिनु भयो । पानी पर्ने यो समयमा सिमसिम मात्र पर्ने रोपाइ हुने गरी पानी नपरेको उहाले बताउनु भयो । रोप्न नपाएर विउ व्याडमा नै वुढो भएको कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले भन्नु भयो ‘सबै भन्दा धेरै प्रभावित क्षेत्रका रुपमा भरतपुर महानगरपालिका रहेको छ ।’ जिल्लामा धान हुने कुल क्षेत्रफलको ४५ प्रतिशत जमिन महानगरमा भएकाले यहाँ रोपाइ कम हुदा जिल्लामा प्रभाव परेको हो श्रेष्ठले भन्नु भयो ।
कार्यालयका अनुसार चितवन जिल्ला भरी कम्तीमा २८ सय हेक्टर क्षेत्रमा धान खेती हुदै आएको थियो । तीन वर्ष अगाडि २९ सय हेक्टर भन्दा धेरै क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा यस वर्ष २८ सय हेक्टरमा मात्र धान रोपाइ हुने भनिएपनि समयमा पानी नपर्ने, सिचाइ हुने नहरमा पानी नभएको कारण धान रोपाइ नभएको कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यालयको तथ्यांकमा गएको आर्थिक वर्षमा एकलाख मेट्रिक्टन धान उत्पादन भएको थियो । २०७४ सालमा ९८ हजार मेट्रिक्टन धान उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । तर यस वर्ष खगेरी नहरमा पानी नहुनु, नारायणी लिफ्टले मात्रै रोपाइ हुने सबै क्षेत्र समेट्न नसक्नु र प्रसस्त मात्रामा पानी नपर्नाले धान रोपाइ घटेको अधिकृत पौडेलले बताउनु भयो । धान रोपाइ नभएको कारण उत्पादनमा पनि हस आउन सक्ने उहाँको भनाइ छ ।
चितवनमा हिउदे र वर्षे धान गरी दुइ बाली लगाउने चलन रहेको छ । हिउदे धान भात खानलाई भन्दा चिउरालाई धेरै प्रयोग हुने गरेको छ । यो ५ हजार हेक्टरमा लगाउने गरिएको छ भने यसको उत्पादन २० हजार मेट्रिक्टन हुने गरेको छ । तीन वर्ष यता वर्षे धानको एकहजार हेक्टर क्षेत्रफल धान रोपाइ हुने क्षेत्रफल घटेको कार्यालयले जनाएको छ । जग्गा खण्डीकरणको कारणले धान रोप्ने स्थान घट्दै गएको हो ।
कार्यालयका अनुसार पूर्वी, पश्चिम र माडी क्षेत्र गरी तीन स्थानमा धान खेती हुने गरी पकेट एरिया छुट्टाएको छ । पूर्वी क्षेत्रमा १२ हजार हेक्टर, माडीमा ३ हजार हेक्टर र पश्चिम चितवन(भरतपुर महानगरपालिका)मा १३ हजार हेक्टर क्षेत्रमा धान खेती हुदै आएको छ ।

शेयर गरौ

ताजा अपडेट