विश्वविद्यालय प्रशासनसँग यसअघि भएका सम्झौता कार्यान्वयन नभएकोमा विरोध जनाउँदै धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।
आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो। सङ्घका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निकाल्दै आज मध्याह्न १२ बजे तालाबन्दी गरेका हुन्।
विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको सङ्घका अध्यक्ष डा वेदमणि दाहालले जानकारी दिए। सङ्घ पदाधिकारी तथा केही कर्मचारीले हिजोदेखि विश्वविद्यालयमा सञ्चालित परीक्षासमेत बहिष्कार गरेका छन्।
काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार/अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्नेलगायतका विषयमा विश्वविद्यालय प्रशासनसँग सम्झौता भएको सङ्घले जनाएको छ।
यही साउन १७ गते सङ्घसँग छलफलका क्रममा रजिस्ट्रार डा सुबोध शर्माले १० दिनभित्र कार्यकारी परिषद्मा प्राध्यापक प्रतिनिधि छनोट गर्ने आश्वासन दिएको तर सोही दिन अर्का व्यक्तिलाई छनोट गरेकाले सङ्घलाई बेवास्ता गरेपछि विरोधस्वरूप तालाबन्दी गरेको डा दाहालले बताए। सङ्घले यही साउन २३ गते विज्ञप्ति जारी गरी विश्वविद्यालयमा हुने सबै प्रकारका परीक्षामा सहभागी नहुन सङ्घमा आबद्ध प्राध्यापक तथा कर्मचारीलाई आग्रह गरेको छ।
स्कूल अफ साइन्सका डीन एवं विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा डा कन्हैया झाले आफूहरुले प्राध्यापक र कर्मचारीलाई कुनै पनि विषयमा दबाब नदिएको बताए। उनले सम्झौता गरेका विषय कार्यान्वयन गराउने सम्बन्धमा छलफल गरी समस्या समाधान गर्न प्राध्यापक सङ्घका पदाधिकारीसँग आग्रह गर्दै आएको पनि जानकारी दिए। विश्वविद्यालयमा आज उपकुलपति र रजिस्ट्रारको कार्यालयमा कर्मचारी समेतलाई बाहिर निकाली तालाबन्दी गर्दै विभिन्न सङ्कायका सेमेष्टर परीक्षा सञ्चालन भइरहँदा सङ्घका प्राध्यापक र कर्मचारी संलग्न नहुनु गलत भएको डा झाले बताए। विश्वविद्यालयमा शनिबारदेखि सेमेस्टर परीक्षा सञ्चालन भइरहेको छ ।