हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप, ८२ जना डेंगु संक्रमित फेला

हेटौंडा , २४ साउन :

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ। डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको छ ।

साउन १ देखि २३ गते ८२ जना डेंगु संक्रमित फेला परेका छन्। बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए। केही बिरामी काठमाडौंमा समेत उपचार गर्न गएको बताएकाले बिरामीको संख्या अझै धेरै हुने बताइएको छ।

डेंगुको संक्रमणका कारण अघिल्लो वर्ष दुई जनाको मृत्यु भएको थियो। यसवर्ष पनि डेंगु संक्रमण फैलिरहँदा उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने काममा सीमित रहेको छ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेंगु नियन्त्रणको लागि तीव्र रुपमा काम गरिरहको दाबी गरेका छन्।

हेटौंडा उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेंगुको नियन्त्रणका लागि समिति गठन गर्ने निर्णय गरिएको समेत उनले बताए।

शेयर गरौ

ताजा अपडेट