काठमाण्डौं, २४ साउन :
भेनेजुएलामा लगाएको पछिल्लो प्रतिबन्धका कारण लाखौंको जनजीवन दयनीय हुने भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायोगले अमेरिकाको आलोचना गरेको छ ।
राष्ट्रसंघका मानवअधिकार उच्चायोगका प्रमुख मिशेल बास्लेटले पछिल्लो प्रतिबन्धले भेनेजुएलाका कमजोर आर्थिक अवस्थाका जनता थप प्रभावित भएको बताउनुभयो । अमेरिकामा रहेका भेनेजुएला सरकारका सम्पत्ति रोक्का गर्नुका साथै ह्वाईट हाउसले उसँगको व्यापारिक सम्बन्ध समेत तोडेको छ ।
राष्ट्रपति निकोलस मडुरो माथि दबाब सिर्जना गर्न गरिएका प्रयासले सर्वसाधारणको दैनिकि कष्टकर बनाएको छ । अमेरिकासहित विश्वका ५० राष्ट्रले निकोलस मडुरोलाई भेनेजुएलाको राष्ट्रपति मानेका छैनन् । अमेरिकाको पछिल्लो प्रतिबन्धका कारण मडुरोले आफ्ना प्रतिपक्षीसँग गर्ने तय भएको वार्ता समेत अनिश्चित समयका लागि स्थगित गर्नुभएको छ ।
प्रतिपक्षी नेता हुवा गुवाईडोसँग राजनितिक अस्थिरता अन्त्यका लागी बार्बाडोसमा हिजो देखी वार्ता हुने भनिएको थियो ।


