दाहिने किनाराबाट हिड्ने बानी बसालौँ

सन्तोष पन्त
हामी नेपालीहरुमा अझै पनि सडकमा पैदल यात्रा गर्दा कुन किनारावाट यात्रा गर्ने भन्ने सम्वन्धमा फरक बुझाई रहेको छ । जानकारहरु कोहि दाहिने किनारावाट हिडेको देखिन्छ भने कोहि बायाँ किनारावाट हिडेको देखिन्छ ।
विद्यालयका पुराना पाठ्य पुस्तकहरुमा बायाँ किनारावाट हिड्नु पर्दछ भनि लेखिएको थियो भने केहि वर्ष देखि दाहिने किनारा भनि उल्लेख गरेको छ । यस सम्वन्धमा बहस छलफल हुँदा आआफ्नै  तर्कहरु प्रश्तुत गर्ने र आफु हिडिरहेको किनाराको पक्षमा बोल्नुका साथै व्यवहारमा समेत त्यस्तै भएको पाईएको छ ।
धेरै पैदल यात्रीहरु वायाँ किनारावाट हिड्ने हुँदा दाहिने किनारावाट हिड्ने पैदल यात्रीलाई घुरेर हेर्ने र यदाकदा मानिस मानिस ठोक्कीने गरेको पनि पाईएको छ । यसरी पैदल यात्रीहरु सडकको कुन किनाराबाट हिड्ने भन्ने सम्वन्धमा एकिन नहुँनाले सवारी दुर्घटना हुन गई ठूलो संख्यामा पैदल यात्रीहरुको क्षेति भएको छ ।
कानूनी व्यवस्था तथा विश्लेषणः
सवारी तथा यातायात व्यवस्था ऐन २०४९
दफा १३२ सवारी रोक्नु पर्नेः (घ) जेब्रा क्रसिङमा मानिस ओहर दोहर गरेको अवस्थामा चालकले आफूले चलाईरहेको सवारी आवश्यकता अनुसार उचित समय सम्म अड्याई राख्नु पर्दछ ।
दफा १३६ पेटिबाट हिड्नु पर्ने :
मानिस हिंड्ने पेटी भएको सडकमा मानिसहरु सो पेटीबाट नै हिड्नु पर्दछ । पेटी नभएको सडकमा हिंड्दा सो सडकको किनारा च्यापी हिड्ने गर्नु पर्दछ ।
दफा १३७ निर्धारित ठाँउबाट बाटो काट्नु पर्नेः पैदल हिड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ, सब वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाँउबाट मात्र बाटो काट्नु पर्दछ ।
सार्वजनिक सडक ऐन २०३१
दफा २ परिभाषा (क) सार्वजनिक सडक भन्नाले कसैको निजी भोगचलनमा नरहेको सडक सम्झनु पर्दछ र सो शव्दले त्यस्तो सडकमा पर्ने सवै किसिमका पुल, कज्वे, कलभर्ट, साईकल मार्ग र फूटपाथ समेत जनाउँछ ।
माथी उल्लेखित सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सार्वजनिक सडक ऐन २०३१ मा भएका केहि व्यवस्थाहरुलाई विश्लेषण गर्दा सार्वजनिक सडकमा सवारीको चालकले जेब्रा क्रसिङ अगावै आफ्नो सवारी उचित समय सम्म अड्याई पैदल यात्रीलाई सडक पार गर्न प्राथमिकता दिनु पर्ने भन्ने व्यवस्था रहेको पाईयो भने पैदल यात्रीहरु सडक पेटीवाट हिड्नु पर्ने भनि सवै पैदल यात्रीहरुलाई बाध्यात्मक व्यवस्था गरेको समेत देखियो ।
हाम्रो विकासोन्मूख देशको विकास निर्माणको लागि विनियोजित आर्थिक अवस्था तथा सडक पुर्वाधार विकासको अवस्थालाई मध्यनजर राखेर पेटी भएको सडकमा पेटी बाट नै हिड्नु पर्ने र पेटी नभएको सडकमा हिड्दा सडकको किनारा च्यापेर हिड्ने  र बाटो काट्नु पर्दा निर्धारित गरेको स्थानवाट मात्र बाटो काट्नु पर्ने भनि पैदल यात्रीलाई सडक किनारावाट हिड्न र निर्धारित स्थानवाट बाटो काट्न निर्देश गरेको देखिन्छ ।
त्यसका साथै सडक भनेको सवारीका साधन चल्ने स्थान मात्र नभई सडकमा पर्ने सवै किसिमका पुल, कज्वे, कलभर्ट, साईकल मार्ग र फूटपाथ समेत हो भनि सडक निर्माण गर्ने निकायलाई सवारी साधन चल्ने स्थान मात्र नबनाई साईकल मार्ग तथा फूटपाथ (पैदलयात्री मार्ग) समेत बनाउन निर्देशन गरेको स्पष्ट देखिन्छ भने सडकमा यात्रा गर्ने पैदल यात्रीलाई सडक क्रस गर्नकालागि जेब्रा क्रसिङ, सब वे, ओभरहेड ब्रीज वा अन्य उपयुक्त स्थान समेत तयार गर्न निर्देशन गरेको छ ।
यसका साथै पैदल यात्रीलाई सडक पेटीवाट हिड्नको लागि निर्देश गर्नु का अतिरिक्त कहि कतै पैदल यात्रीका लागि सडक पेटी नभए किनारावाट हिड्नको लागि निर्देशन गरेको छ ।
यसरी कानूनले सडक बनाउँदा सडक प्रयोगकर्ताको सुरक्षाकालागि बनाउनु पर्ने पुर्वाधारहरु र सडक प्रयोगकर्ताहरुले पालना गर्नु पर्ने नियमहरु समेत उल्लेख गरेको स्पष्ट देखिन्छ भने सवारीलाई वायाँ तिरवाट     ( ीभात जबलम म्चष्खष्लन ) चलाउनु पर्ने भनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३५ मा उल्लेख गरे पनि पेटि भएको वा नभएको सडकमा पैदल यात्रीहरु कुन किनारावाट हिड्ने भनि कानूनमा व्यवस्था भएको नपाईएकोले पैदल यात्रीले आवागमनलाई अशर नपर्ने गरि आफ्नो सुरक्षालाई ध्यान दिएर पेटी भएको सडकमा अनिवार्य रुपमा पेटीबाट नै र नभएको सडकमा सडकको किनाराबाट यात्रा गर्नु पर्ने देखियो । नेपालको परिपे्रक्षमा बायाँ तर्फवाट सवारी चल्ने भएकोले पैदलयात्रीहरु सडकको किनारावाट हिड्दा दाहिने किनारावाट हिड्नुृ सुरक्षीत मानीन्छ ।
दाहिने किनारा किन सुरक्षीत ?
सवारी संग कुनै व्यक्तिको ठक्कर भएमा निसन्देह व्यक्तिमा ठूलो चोट पर्दछ र व्यक्तिको मृत्यू समेत हुन सक्छ । तसर्थ पैदल यात्रीलाई सडकमा ठक्कर नलागोस भनेर को काहाँबाट हिड्ने भनि स्पष्ट हुनु आवस्यक छ ।
सडकमा यात्रा गर्ने सवै पक्षलाई अर्को पक्षले के गरि रहेको छ र के गर्न सक्छ भन्ने गतिविधिका वारेमा जानकारी भएको खण्डमा दुर्घटना हुने सम्भावना कम हुन्छ । एकको गतिविधि अर्कोले देख्नको लागि दुवै पक्ष एक आपसमा देखिनु पर्दछ, आमने सामने हुनु पर्दछ ।
यदि पैदल यात्रीहरु सडकको पेटीवाट हिड्ने व्यवस्था छ भने त सडक पेटीवाट पैदल यात्रीहरु हिड्छन् र सवारीहरु सडकमा आफ्नो लेनवाट हिड्छन् समस्यै रहेन । तर जहाँ सडक पेटी छैन, पैदल यात्री र सवारीका साधनहरु दुवै सडकवाटै हिडेका छन् भने त्यहाँ पैदल यात्री र सवारीको विचमा ठक्कर हुन सक्छ, तसर्थ सडक प्रयोग गर्ने सवारी तथा पैदल यात्री दुवै पक्षले सुरक्षालाई ध्यान दिएर यात्रा गर्नु गराउनु पर्दछ ।
यस्कालागि सडक प्रयोगकर्ता पैदल यात्रीहरुले दाहिने किनारावाट यात्रा गर्नु पर्दछ  जसवाटः
सडकमा बाँया किनारावाट चलेको सवारीले पैदल यात्रीलाई अगाडिबाट स्पष्ट देख्न सक्छ भने पैदल यात्रीले समेत सवारी चालक तथा सवारीलाई अगाडिबाट स्पष्ट देख्न सक्छ ।
पैदल यात्रीको गतिविधि चालकले अवलोकन गर्न सक्छ र सवारीको गतिविधि समेत पैदल यात्रीले अवलोकन गर्न सक्छ । जसवाट सुरक्षाको लागि दुवै पक्षले समयमै सजगता अपनाउन सक्छन् ।
अगाडिवाट आईरहेको सवारी प्रति पैदल यात्रीको बढी ध्यान जाने भएकोले पैदल यात्रीको ध्यान सडकमा र सुरक्षामा केन्द्रित हुन्छ  ।
अगाडिवाट आईरहेको पैदल यात्रीको गतिविधि स्पष्ट देख्न सक्ने भएकोले चालकले आफ्नो ध्यान सडक सुरक्षामा केन्द्रित गर्दछ  ।
अगाडिबाट आई रहेको सवारीले सडकको लेनको कति भाग ढाकेको छ भन्ने कुरा पैदल यात्रीले स्पष्ट देख्ने भएकोले आफु सडकको किनाराको सुरक्षीत भागवाट मात्र यात्रा गर्दछ ।
सडकमा यात्रा गरी रहेका फरक क्षमता भएका व्यक्तिहरु ( दृष्टि विहिन, अपाङ्ग आदि) लगायत आफुलाई नियन्त्रण गर्न नसकेका व्यक्तिहरु ( मादक तथा लागू पदार्थ सेवन गरेका) को वारेमा समेत चालकले समयमै अवलोकन गर्न सक्दछ र सुरक्षाका उपायहरु अपनाउन सक्दछ ।
तसर्थः
सडक बन्दा सडक पेटीको अनिवार्य व्यवस्था हुनु पर्दछ पैदल यात्रीलाई सडक पार गर्नकालागि यथा सम्भव ओभरहेड ब्रीज, सव वे र सम्भव नभए पर्याप्त मात्रामा जेब्रा क्रसिङ बनाउनु पर्दछ, सडकमा लेन छुट्याउने रेखा लगायत सडकको किनारा छुट्याउने रेखा स्पष्ट देखिने गरि पोतिनु पर्दछ ।
पैदल यात्रीहरु पेटी भएको सडकमा पेटी बाट नै र नभएको सडकका सडकको दाहिने किनारामा पोतीएका पहेलो रेखा भन्दा बाहिरवाट एकलाईनमा पैदल यात्रा गर्नु पर्दछ, कुनै पनि हालतमा सडकको पेटी अतिक्रमित हुनु हुदैन ।
सडक पार गर्दा समेत भए सम्म ओभरहेड ब्रीज, सव वे खोज्नु पर्दछ र नभएमा जेब्रा क्रसिङमा पुगेर मात्र सडक पार गर्नु  पर्दछ । सवारी चालकले सडक किनारामा यात्रा गरि रहेका पैदल यात्रीको सुृरक्षालाई केन्द्र विन्दुमा राखेर सवारी चलाउनु पर्दछ भने पैदल यात्रीहरुले पनि सडकको किनारा मात्र पैदल यात्रीको लागि हो अन्य सडक त सवारीको लागि हो भन्ने सोचेर सडकमा यात्रा गर्नु पर्दछ ।
पेटी नभएको सडकमा यात्रा गर्दा दाहिने किनारावाट मात्र गर्नु पर्दछ भन्ने कुरा अभियानकै रुपमा प्रचार प्रसार गर्नुका साथै हामी सवैले दाहिने किनारावाट हिड्ने बानी गर्नु आजको आवश्यकता हो ।

९८५५०९०५५५

pantasantosh23@gmail.com

शेयर गरौ

ताजा अपडेट