चितवन समाचार डटकम
२३ साउन ।
वातावरण प्रभाव मुल्यांकनको अन्तिम रिपोर्ट नआउदा चितवनको शक्तिखोरमा निर्माण हुन थालेको औद्योगिक क्षेत्रको काम अबरुद्ध भएको छ ।
तीन नं. प्रदेश अन्तरगत चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र सबै भन्दा पायक पर्ने स्थानमा भएको भन्दै उद्योगीहरु हर्सित भएका थिए । केही महिना अगाडि वातावरण प्रभाव मुल्यांकन इआइएको पहिलो पटक सार्वजनिक सुनुवाइ भएको थियो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले भन्नु भयो ‘औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर सार्वजनिक सुनुवाइ भयो त्यसपछि सेलाएर गएको छ ।’ नगरपालिकाको अन्य कामले गर्दा त्यसमा ध्यान दिन पाएको छैन उहाले भन्नु भयो ।
औद्योगिक क्षेत्र निर्माणको लागि पहल कदमी गर्दै आएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भन्नु भयो ‘विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ अब इआइए सकिएपछि काम शुरु हुन्छ ।’ कालिका नगरपालिकाको ३,४ नं. वडामा पर्ने शक्तिखोरको औद्योगिक क्षेत्र १७ सय विगाहमा फैलिएको छ । यो तात्कालिन माओवादीको लडाकु शिविर भएको स्थान र जंगल क्षेत्र पर्दछ ।
औद्योगिक क्षेत्र निर्माणका लागि केन्द्र सरकारले स्थान छनौट गरेको हो । यस स्थानको पटकपटक अध्ययन भइसकेको छ । भरतपुर र रत्ननगरबाट जान सकिने यहाँ चार चरणमा विभिन्न संरचना निर्माण हुनेछ । जंगल क्षेत्र पर्ने भएकाले यहाँ कम रुख कटान गरेर संरचना निर्माण गर्ने योजना बनेको अध्यक्ष दुवाडीले बताउनु भयो । उहाले भन्नु भयो ‘बाटो र भौतिक संरचना निर्माण गर्ने स्थान बाहेकको ठाँउमा रुख काटिने छैन ।’ अहिले भइराखेको रुख भन्दा औद्योगिक क्षेत्र बनेपछि धेरै विरुवा रोपिने उहाले जानकारी दिनु भयो ।
औद्योगिक क्षेत्र निर्माणको लागि चितवन उद्योग संघले स्थानको छनौट, निर्माणको लागि पहल गर्दै आएको छ । उद्योग स्थापना गर्नको लागि अहिलेसम्म ४ सय उद्योगले माग फारम भरिसकेको अध्यक्ष दुवाडीले बताउनु भयो । उद्योगीहरुले ९९ वर्षको लागि जग्गा भाडामा लिन सरकारसंग माग गरेपनि सरकारले भने ३९ वर्षको लागि मात्र भाडामा दिने तयारी गरेको संघले जनाएको छ । ३९ वर्षपछि पुन नविकरण गर्ने सरकारको भनाइ रहेको अध्यक्ष दुवाडीले बताउनु भयो ।
इआइएको पहिलो सार्वजनिक सुनुवाइबाट स्थानीयले वातावरण प्रदुशित नहुने उद्योग सञ्चालन गर्न सुझाब दिएको उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले बताउनु भयो । विकासको काम गर्दै गर्दा विनास हुन बाट जोगाउनु पर्ने स्थानीयको माग रहेको छ ।


