सरकारले वार्ताको हल्ला मात्र गरेको बिप्लव समुहको आरोप

काठमाडौं, २१ साउन ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै सरकाले भनेको वार्ता हौवा र यो नियोजित षड्यन्त्र मात्र भएको आरोप लगाएको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै यसबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न संकटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको संकेत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ताविरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि गरेको आक्रमणलाई उच्चस्तरको कार्बाही जनाउँदै एनसेलले देशको न्यूनतम कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कार्बाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

एनसेलले गरेको उक्त कार्यलाई अपराधको संज्ञा दिंदै नसच्याए थप कार्बाही हुने र देश निकाला गर्न जनता समक्ष अपिल गर्ने जनाएको छ ।

केहि दिनअघि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह संकटमा रहेको बताएका थिए । उनले विप्लव समूहको पार्टी संरचना अङ्गभङ्ग भइसकेको दावी गर्दै विप्लव समूह अहिले कमजोर अवस्थामा रहेको बताएका थिए ।

यस्तै एनसेल टावरहरुमाथिको आगजनीपछि सुरक्षा निकायका प्रमुखहरुले गृहमन्त्रीलाई घटनाको ब्रिफिङ गरेका थिए । सुरक्षा प्रमुखको ब्रिफिङपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विप्लव समूहप्रति कडा देखिएका छन् ।

शेयर गरौ

ताजा अपडेट