चितवन समाचार डटकम
२० साउन ।
पर्यटकलाई आकर्शित पार्नको लागि चितवनको मेघौलीमा २१ करोडको लगानीमा राइनो पार्क निर्माण हुने भएको छ ।
प्रदेश सरकारको लगानीमा मेघौली विमानस्थल नजिकै पाँचसय ५० विगाह क्षेत्रफलमा राइनो पार्क निर्माण गर्न लागिएको हो । प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले भन्नु भयो ‘चितवन पर्यटकीय क्षेत्र भनियो तर यहाँको अलगै पहिचान दिने त्यस्तो संरचना नभएकाले राइनो पार्क निर्माण गर्न लागेका हौ ।’ भरतपुरदेखि २५ किलोमिटर पश्चिम दक्षिणमा रहेको यो स्थानमा पार्क निर्माण भएपछि चितवनको अलगै पहिचान हुने उहाले बताउनु भयो ।
सांसद भुर्तेलका अनुसार १० लाख भन्दा धेरैको लगानीमा डीपीआर बनेर यसै वर्षदेखि निर्माणको काम शुरु हुनेछ । मेघौली विमान स्थलसंगै जोडिएको सामुदायिक वन क्षेत्रमा निर्माण गरिने पार्कले अलगै पहिचान बोकेको हुन्छ भुर्तेलले भन्नु भयो ‘प्रदेश सरकारले यहाँ २१ करोड लगानी गर्नेछ ।’ पहिलो चरणमा यस वर्ष ५० लाख रुपैया बजेट छुट्टाइएको छ । प्रारम्भिक काम सकेपछि अन्य संरचना निर्माण गर्न बजेट आउने छ सांसद भुर्तेलले भन्नु भयो ।
पार्कको योजना सम्वन्धी काम गर्दै आउनु भएका चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले भन्नु भयो ‘सजिलै गैंडा हेर्न सकिने गरी संरचा बनाइनेछ ।’ ‘सामुदायिक वन भित्र १० फिट अग्लो भ¥याङसहितको फलामको पुल निर्माण गर्नेछौ’ उहाले भन्नु भयो ‘यही पुलबाट गैंडा हेर्न सकिन्छ, गैडाको वासस्थान, आहाल खेल्ने ठाउँमा यस्तो फलामे पुल निर्माण गरिने योजना रहेको छ ।’ जंगल सफारी गर्दा नदेखेको गैंडा यो पार्कमा आएपछि सजिलै देख्न सकिने गरी व्यवस्था मिलाइने छ ।
योसंगै अर्को आकर्शकको रुपमा गैंडाको मुर्ती निर्माण गरिनेछ । त्यो बाहिरबाट एउटा देखिन्छ, भित्र भने तीनतलाको हुने महासचिव सुवेदीले बताउनु भयो । गैंडाको मुर्ती भित्र नै रेष्टुरेन्ट बन्नेछ । त्यही बसेर विभिन्न परिकारका खानाखान पाइने छ, पर्यटकीय सूचना केन्द्र राखिने छ यसले स्वदेशी विदेशी पर्यटकलाई आकर्शित पार्ने उहाँले बताउनु भयो । गैंडाको मुर्ती निर्माण गर्न ५ करोड खर्च लाग्ने विस्तृत योजनामा समेटिएको छ । पर्यटकीय क्षेत्र निर्माणमा अन्य जिल्लाले धेरै काम गरिसकेपनि यहाँ उल्लेख्य गतिविधि नदेखिएकाले फरक गर्न लागेको उहाले बताउनु भयो । राप्ती नदी किनारमा रहेको सामुदायिक वन भित्र हुने यो पार्क प्रकृतिक रुपमा रमाउन चाहनेको लागि धेरै उपयोगी हुने समितिले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नु भयो ‘राइनो पार्क निर्माणले मेघौलीको पर्यापर्यटनलाई धेरै राम्रो गर्दछ, सामुदायिक वनभित्र वातावरण मैत्री तरिकाले बन्न लागेकाले यो ज्यादै राम्रो हुनेछ ।’ बन्य जन्तु संरक्षणको लागि यस्ता गतिविधिले सहयोग पुग्ने उहाको भनाइ छ ।
मेघौलीबाट चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको टाइगर टप्स, नारायणी र राप्तीको संगम स्थल, जंगल सफारी, गोलाघाटमा निर्माण हुने सुर्यास्त टावर यही रहेकाले पर्यटकको लागि नयाँ गन्तव्य हुने पर्यटन विकास समितिले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका भित्र रहने यो क्षेत्रमा महानगरपालिकाले पनि चासो दिएको छ ।


