काठमाडौं २० साउन । मुलुकभर निर्माण भएका कुल ४९ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा आएका छन् । अन्य विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालनका लागि सरकारले धेरै प्रयास गरे पनि विभिन्न समस्याका कारण अझै सबै विमानस्थलबाट हवाई सेवा सञ्चालन गर्न नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
मुलुकको हवाई सेवा व्यवस्थापन एवं सेवा प्रदायक कम्पनीको नियामक निकाय प्राधिकरणले तयार पारेको प्रतिवेदनअनुसार मुलुकभर हाल ४९ विमानस्थल निर्माण भएका छन् । जसमध्ये ३३ वटा विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । अन्य विमानस्थलमा विस्तारै सेवा विस्तार गर्दै जाने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निर्माण कार्य पूरा भएका र स्तरोन्नतिको काम सम्पन्न भएका विमानस्थलमा अब थप हवाई उडान विस्तार गर्ने कार्यमा यस प्राधिकरण लागिरहेको जानकारी दिए । उनले हाल प्राधिकरणले हवाई सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतासाथ अघि बढाएको बताए । उनले मुलुकको हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन सुरक्षा, पूर्वाधार र क्षमता अभिवृद्धिका कामलाई आफूले विशेष ध्यान दिइएको बताए ।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को सुरक्षा मापदण्डअनुरूप मुलुकको हवाई उड्डयन क्षेत्रको सुदृढीकरणका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने लक्ष्य लिएको बताए । यसैगरी, त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाइको बताउँदै उनले अन्तर्राष्ट्रिय विमानस्थलको पहिलोपटक धावनमार्गको स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए ।
आगामी डिसेम्बरसम्म विमानस्थलको ‘ट्याक्सी वे’ मर्मतको काम सकिने प्राधिकरणले जनाएको छ । यो विमानस्थलाई बुटिक विमानस्थलका रूपमा स्थापित बनाउने गरी काम भइरहेको छ । प्राधिकरणका अनुसार भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम अघि बढाइएको छ । आयोजनालाई जसरी पनि सम्पन्न गरी उडान सेवा सञ्चालन गर्ने योजनाका साथ प्राधिकरण लागि परेको छ । यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुन अघि नै सञ्चालन गर्नेगरी काम भइरहेको छ ।
उनले अन्य आन्तरिक विमानस्थलको सेवा सुधार र गुणस्तर बढाउन प्राधिकरण लागि परेको बताए । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार अहिले भएका ठूला आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै एटीआर विमानदेखि सय सिट क्षमताका विमान उडान अवतरण गर्नेगरी स्तररोन्नति गर्ने योजनाका साथ काम थालिएको छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलको स्तरोन्नतिका लागि गुरुयोजनाका साथ काम अघि बढाइनेछ । यी विमानस्थलमा अहिले रात्रिकालीन उडान भइरहेको छ । तराईका सम्भव भएका विमानस्थलमा रात्रिकालीन उडानका लागि पहल गरिने प्राधिकरणले जनाएको छ ।
‘हाम्रो मुख्य ध्यान बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलाई जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउने हो । त्यसलाई कुन मोडालिटीमा निर्माण गर्ने भन्ने सरकारले निर्णय गरेपछि धमाधम निर्माण गरिन्छ । यस आयोजना चाँडो अघि बढाउन प्राधिकरण र मन्त्रालय सक्रियतापूर्वक लागि परेको छ,’ महानिर्देशक पोखरेलले भने ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका रूख कटानको विषय विवादित बन्दा सो आयोजनाको प्रगति भएको छैन । अहिले विमानस्थलको चार किल्ला तोक्ने, तारबार हाल्ने र मुआब्जा वितरणको काम भइरहेको छ । नेपाली सेनासँग भएको सम्झौताअनुरूप वन मन्त्रालयको स्वीकृति पाएमा रूख कटानको काम सुरु हुने बताइएको छ । अहिले सो प्रक्रियाका लागि प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयलाई रूख कटानको स्वीकृतिका लागि पत्राचार गरेको छ । यसबारे कुनै निर्णय भएको छैन ।
यसअघि एक सार्वजनिक कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कमभन्दा कम क्षति हुनेगरी आवश्यकताका आधारमा निजगढ विमानस्थल निर्माणका लागि रूख काट्न सहमति दिन सकिने संकेत गरेका थिए । सो आयोजनाको वातावरणीय पक्षको चासोलाई लिएर अहिले केही वातावरण विज्ञले रूख कटानको विरोध जनाउँदै आएका छन् । निजगढ विमानस्थल निर्माणका लागि सरकारले अहिलेसम्म डीपीआर तयार पार्नेदेखि आवश्यक जग्गा प्राप्तिलगायतका काम गरिसकेको छ ।
राजधानी दैनिक बाट


