चितवन समाचार डटकम
१८ साउन ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि मूल्य निर्धारण आयोग गठनको तयारीमा रहेको बताउनु भएको छ ।
शनिबार विहान चितवनका कुखुरा व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले कृषि उपजले उचित मुल्य नपाएको भन्ने गुनासो आइराखेकाले आयोग गठन गरेर समस्या समाधान तर्फ लाग्न लागेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘समस्या माथि धेरै पटक छलफल भयो, आदेशका भरमा मात्र काम भएन, अब मूल्य निर्धारण आयोग गठन गरेर समाधान गर्ने तयारीमा छौ ।’
मन्त्री खनालले भन्नु भयो ‘आयोगले सबै बस्तुको मूल्य निर्धारण गर्दैन, मुख्यमुख्य बालीको गर्न सक्छ त्यसमा ८ वटा बाली परेको छ ।’ यस विषयमा सदनमा पनि कुरा उठेकाले छिट्टै समाधानको बाटो तर्फ लाग्दै छौ उहाले भन्नु भयो । सरकार आफैले कृषि उपज खरिद गर्न सक्ने क्षमता बढाएमा मात्र मूल्य निर्धारणले सार्थकता पाउने भएकाले यो चुनौतीका रुपमा रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘कालोबजारी गर्नेलाई तत्काल कार्वाही गर्न सक्ने भएमा मात्र किसान उपभोक्ताले सुशासनको अनुभूति गर्न सक्ने छन ।’ बिचौलिया कालोबजारीको समस्या अर्को समस्या हो यसलाई समाधान गर्न मन्त्रालयले काम गरिराखेको जानकारी दिनु भयो । किसानले उठाएका समस्यालाई समाधान गर्दै गर्दा उनीहरुको वर्गीकरण पनि जरुरी रहन्छ मन्त्री खनालले भन्नु भयो ।
मन्त्रालयका सहसचिव एबं पशु सेवा विभागका पूर्व महानिर्देशक डा बिमल कुमार निर्मलले किसानका ठूला समस्या नरहेको भन्दै देशभरका कुखुरा किसानको उत्पादन मूल्य निर्धारण गरे समाधान हुने बताउनु भयो । त्यसका लागि कृषि मन्त्रालय भन्दा अर्थ मन्त्रालयको भूमिका बढी हुने उहाँको भनाइ थियो ।
व्यवसायीले साना किसान मर्कामा रहेको, केही ठूला व्यवसायीले बजार नियन्त्रणमा लिएको, किसानको लागत मूल्य नपाउदा व्यावसायबाट बिस्थापित हुने अवस्था आएको, बिचौला हाबी भएको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । उनीहरुले कार्यदल गठन गरी लागत मूल्य निर्धारण गर्न माग गर्दै मन्त्री खनाल समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


