बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका : मन्त्री योगेश भट्टराई

काठमाडौं, १६ श्रावण ।

नवनियुक्त पर्यटनमन्त्री एवं नेकपा नेता योगेश भट्टराईले पर्यटन भ्रमण वर्ष सफल बनाउन चूनौतीपूर्ण रहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने आफ्नो पहिलो चुनौती भएको बताएका हुन् ।

निर्माणाधीन पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्ने, पर्यटकीय गन्तव्यहरुको विकास गरी विदेशीहरुलाई नेपाल आउन प्रेरित गर्नु चुनौतीपूर्ण रहेको बताए ।

उनले मन्त्रालयमा आवश्यक परामर्श गरेर कार्ययोजना सार्वजनिक गर्ने सुनाए । परिणाम देखिन कति समय लाग्ला भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भने, ‘बल्ल त काम थाल्दैछु । बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका । एकएक रन लिएर अलमलिएर नबस्ने । छक्का चौका हान्ने हो ।’

भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।

मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग करार सम्झौता हुन बाँकी छ ।

शेयर गरौ

ताजा अपडेट