चितवन समाचार डटकम
काठमाण्डौ १६ माघ ।
गौतम बुद्ध अन्र्तरराष्ट्रिय क्रिकेट रंगशाला भरतापुरमा निर्माणको लागि धुर्मस सुन्तली फाउण्डेशन बीच सम्झौता भएको छ ।
आज दिउसो काठमाण्डौको सभागृहमा भएको भव्य कार्यक्रमका बीच यो रंगशाला निर्माणको लागि घोषणा भएको हो । धोषणा सभामा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले देशकै गौरवको संरचना निर्माण गर्ने कार्यले आफू ज्यादै उत्साहित भएको बताउनु भयो । उहाले यो निर्माणको लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्ष्भित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बुधबार आयोजना गरिएको घोषणा कार्यक्रममा जानकारी दिनु भयो ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताउनु भयो । उहाले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा प्रयोग गर्ने बताउनु भयो ।
रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ । रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।
क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।
रंगशालाको गुरुयोजना तयार पार्न ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको छ ।
रंगशाला घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, हास्यकलाकार मदन कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।