काठमाडौं, १५ साउन । नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रपत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन् ।
मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफू वधाइको लालची नभएको बताएका छन् । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनु होला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले सुनाए ।
उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन् । आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका छन् । ‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला,’ उनले भने ।
योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने दावी गरेका छन् । ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’
उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् । ‘मलाई १ बजे बोलाएर प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गर्नुभयो,’ भट्टराईले भने, ‘यो मन्त्रालयमा कति नम्बरमा परें थाहा छैन । फोटा धेरै छन् । उहाँहरू सबैसँग राय सुझाव लिएर मात्र अगाडि बढ्ने छु ।’


