चितवन १५ साउन । प्रतिबन्धित नेकपा विप्लव समुहका कार्यकर्ताले चितवनको इच्छाकामना गाउपालिकाको वडा कार्यालयमा तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार गाउँपालिकाको वडा नंं. २ काउलेमा रहेको कार्यालयमा तोडफोड गरेका हुन् । आज विहान ७ बजेको समयमा आएका कार्यकर्ताहरुले वडा कार्यालय भित्र रहेको कम्प्युटर, कुर्सी, दर्ता किताबलगायतका सामग्री बाहिर ल्याएर च्यातेको, तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरीको टोली घटना स्थलमा गएकाले थप विवरण आउने बाँकी रहेको प्रवक्ता कोइरालाले जानकारी दिनु भयो । चितवनको अन्य स्थानमा भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दको आव्हान गरेकाले जिल्लामा सवारी साधन चल्न सकेका छैनन् । शैक्षिक सस्थाहरु बन्द रहेका छन् । बजार आम्शिक रुपमा खुलेको छ ।


