चितवन समाचार डटकम
१४ साउन । पार्किङको उचित व्यवस्था नहुदा भरतपुर अस्पतालको गेट अगाडि बेथिति भएको छ ।
अस्पतालमा उपचारको लागि आएका विरामीलाई ओसार पसार गर्नको लागि आउने सवारी साधन गेटै अगाडि रोकिदिदा अस्तव्यस्त बनेको हो । अस्पताल भित्र रहेको साधुरो पार्किङमा सवारी साधन नजाने बाहिर सडकमा नै रोकेर राखिदिदा सेवाग्राहीलाई समस्या पर्ने गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्नु भयो ‘अस्पताल भित्र आएका विरामीलाई सेवा दिनको लागि समस्या भएको बेला बाहिरको व्यवस्थापन गर्न सकिएको छैन ।’
अस्पताल भित्र पार्किङ छ त्यहाँ दुइ पांग्रे साधन राख्न सकियो अन्य साधनको लागि पार्किङको लागि जग्गा उलपब्ध गराउन सकिएको छैन डाक्टर तिवारीले भन्नु भयो । गेट अगाडिको ट्राफिक व्यवस्थापन अस्पताल र ट्राफिक मिलेर गर्नु पर्ने हुन्छ यो हाम्रो मात्र दायित्व होइन डाक्टर तिवारीले भन्नु भयो । अस्पतालमा आउने विरामीको चाप बृद्धि भएको कारण आन्तरिक व्यवस्थापनमा लागेकाले बाहिरको समस्या समाधान गर्न नसकिएको उहाले बताउनु भयो । हामीले यस विषयमा ध्यान दिएका छौ व्यवस्थापनको लागि पहल हुने छ उहाले जानकारी दिनु भयो ।
अस्पताल आएका विरामी तथा आफन्तहरु गेटै अगाडि हुने अव्यवस्थित सवारी साधनको पार्किङले गर्दा हैरानी व्यहोरेका छन् । अटो, रिक्सा, म्याजिक भ्यान लगायतले यात्रुलाई अनावश्यक हैरानी दिने, भाडा ठग्ने, भिडले दुर्घटना हुन सक्ने जोखिम रहेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले भन्नु भयो ‘पार्किङको व्यवस्थापन अस्पताल आफैले नगरेसम्म समस्या समाधान हुदैन ।’ सवारी साधनलाई व्यवस्थित पार्नको लागि मोवाइल टोलीले पटक पटक काम गर्दा समाधान नभएको उहाले बताउनु भयो । अस्पताल प्रशासन आफैले पार्किङको लागि जग्गा उपलब्ध गराएर स्थान नतोकेसम्म समस्या रही रहने उहाको भनाइ छ ।
भरतपुर अस्पतालमा अहिले दैनिक करिब १५ सय भन्दा धेरैले ओपिडी सेवा लिने गरेका छन् । त्यो भन्दा बाहेक इमरजेन्सी, अन्यत्रबाट आउने जानेहरुको सख्या ठुलै रहेको छ । यो अस्पतालमा चितवन, नवलपरासी, गोरखा, मकवानपुर, तनहु, गोरखा, बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट उपचारको लागि आउने गरेका छन् । स्वास्थ्य विमाको उपचार यही अस्पतालमा मात्र हुने व्यवस्थाले गर्दा विरामीको चाप अझ बढेको छ ।


