इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंद्वारा इङ्ल्याण्डको आर्सनल पराजित

काठमाडौं, १३ साउन ।

प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंले इङ्ल्याण्डको आर्सनललाई पराजित गरेको छ ।

गए राति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिए । तर दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए ।

यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् । दुई दिनअघि मात्रै कार लुटेराहरुसँग मुठभेड भएका खेलाडीहरु खेलका लागि पूर्ण रुपले तयार नभएको प्रशिक्षक युनाई एम्रेले बताएका छन् ।

उता मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा चेल्सीले रिडिङलाई ४–३ ले हराएको छ । च्याम्पियनसिप क्लब रिडिङ विरुद्धको खेलमा प्रिमियर क्लब चेल्सीलाई विजयी गराउन मेसन माउण्टले दुई गोल गरे ।

गए राति भएको अर्को खेमला ईटालीको नापोलीले इङ्ल्यान्डको लिभरपुललाई ३–० ले हरायो । नापोलीको प्रभावशाली जितमा इन्सीग्ने, मिलिक र योनुसको एक–एक गोल सामेल थियो । गए राति नै भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा पोर्चुगलको बेनिफिकाले इटालीको एसी मिलानलाई १–० ले हराएको छ । एजेन्सी

शेयर गरौ

ताजा अपडेट