काठमाडौं, ११ साउन :
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउन २ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्न पाउने भएका छन् ।
क्यालिफोर्नियाको संघीय अदालतको निर्णय उल्ट्याउँदै अमेरिकी सर्वाे्रच्च अदालतले ट्रम्पको पक्षमा फैसला सुनाएको हो। यसअघि संघीय अदालतले ट्रम्पले देशको दक्षिणी क्षेत्रमा सीमा पर्खाल बनाउन पेन्टागनको उक्त रकम खर्चिन नपाउने फैसला गरेको थियो ।
ट्रम्पले सन् २०१६ मा चुनावी अभियानका क्रममा व्यक्त गरेको प्रमुख प्रतिबद्धतामा अमेरिका–मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउने पनि एक हो ।
जसलाई डेमोक्र्याटहरूले अस्वीकार गर्दै आएका थिए। सर्वोच्चको फैसलासँगै ट्रम्पले अब पेन्टागनको २ अर्ब ५० करोड अमेरिकी डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउन प्रयोग गर्न पाउने भएका छन्। उक्त फैसलालाई ट्रम्पले आफ्नो ठूलो जित भएको बताएका छन् ।
ट्रम्पले अमेरिका सुरक्षाका लागि आप्रवासीको अवैध प्रवेशमा रोक लगाउनु पर्ने बताउँदै आएका छन्। उनी आप्रवासी प्रति कठोर देखिएका छन्।


