काठमाण्डौं ९ साउन । नेपालबाट जापानमा कामको लागि जानेहरुका लागि आउँदो कात्तिकमा भाषा र सीप परीक्षण हुने भएको छ ।
भाषाको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो । जापान फाउण्डेशनले कात्तिक ११ र १२ मा भाषा परीक्षा तथा २१ र २२ मा सीप परीक्षण सञ्चालन गर्ने मिति आफ्नो वेवसाइटमा राखेर जानकारी दिएको छ । तर मन्त्रालयलाई आधिकारिक मिति तोकेर पत्र नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले जानकारी दिनुभयो ।
जापानले लैजाने ‘स्पेसिफाइड स्किलड वर्कर’ का लागि भाषा र सीप दुवै परीक्षा अनिवार्य रुपमा पास गर्नु पर्ने हुन्छ । नर्सिङ केयरगिभरको काममा जानका लागि भाषा परीक्षामा इच्छुक सबै सहभागी हुनसक्ने महाशाखाका उपसचिव ढकालले जानकारी दिनुभयो ।
‘नर्सले मात्र परीक्षा दिन पाउने र उनीहरु मात्र परीक्षाका लागि योग्य हुने होइन, नर्सिङ केयरगिभरको काम भएकाले इच्छुक सबैले भाषा र सीप परीक्षामा सहभागी हुन पाउँछन,’ उपसचिव ढकालले भन्नुभयो, ‘सीप परीक्षणमा पनि कामसँग सम्बन्धित भाषा नै परीक्षण हुन्छ ।’
आउँदो अप्रिल १ देखि कामदार लाने प्रक्रिया थाल्ने गरी श्रम समझदारी भए पनि कामदार जापान पठाउने सन्दर्भमा अझै पनि धेरै कुरा प्रष्ट हुन बाँकी छ । कहिलेदेखि कामदार लैजाने, कति सँख्यामा लैजाने भन्ने कुरा अझै टुंगो लाग्न बाँकी छ ।
‘अस्पष्ट भएका कतिपय कुरामा हामीले पत्र पठाएका छौं, त्यसमा जवाफ आएको छैन, आधिकारिक जानकारी नआएसम्म हामीले भन्न सक्ने अवस्था छैन,’ ढकालले भन्नुभयो ।
जापानले कामदार लैजान छनोट गरेका क्षेत्रहरूमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, निर्माण उद्योग, सरसफाइ, मत्स्य, हवाई सुरक्षालगायत छन् ।
जापानले आवश्यक पर्ने नर्सिङ केयरगिभरको काममा नेपालसहित चीन, भियतनाम, फिलिपिन्स, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डानेसिया र मंगोलियाबाट कामदार लैजाने निर्णय गरेको छ ।
नेपाल र जापानबीच श्रम समझदारी हुँदा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाली कामदारले जापानी नागरिक सरह सेवा सुविधा पाउने बताउनुभएको थियो ।
दुई देशबीच हस्ताक्षरको प्रक्रियामा रहेको एमओसी अनुसार कामदार पठाउन म्यानपावर कम्पनीहरू रहने छैनन् । तर अहिलेसम्म कुन संयन्त्रमार्फत कामदार जान्छन् भन्ने कुरा टुङ्गो लागेको छैन ।
जापानमा नेपाली श्रमिकका लागि पाँच वर्षको करार अवधि हुने र उच्च सीप भएका कामदारले समय थप्न सक्ने र परिवार लान पाउने प्रावधान दुई देशबीच भएको समझदारीमा उल्लेख छ ।


