काठमाडौं, ९ साउन :
राष्ट्रिय खेलकुद परिषद राखेपले रिक्त रहेको दरबन्दी पदपुर्तिका लागि तयारी अघि बढाएको जनाएको छ ।
राखेपमा आवश्यक १ हजार कर्मचारी दरबन्दी परिपुर्तिका लागि पास भईसकेको र लोकसेवा आयोगले प्रक्रिया समेत थालिसकेको राखेप सदस्य सचिव रमेश सिलवालले जानकारी दिनुभयो । सिलवालका अनुसार १ महिनाभित्र ३ सय स्थायी र ७ सय अस्थायी कर्मचारीको भर्ना नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।
कर्मचारी अभावका कारण जिल्लागत रुपमा राखेपका गतिविधि कमजोर बनिरहेका बेला राखेपले आवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्न लागेको हो । सदस्य सचिव सिलवालका अनुसार प्रशिक्षक/कर्मचारी, तथा अन्य कर्मचारी गरी १ हजारको हाराहारीमा कर्मचारी तत्काल नियुक्त गर्ने गरी काम अघि बढेको छ ।
त्यस्तै आन्तरिक बढुवा तथा समायोजनको कामपनि सँगै अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
कर्मचारीको पदपुर्तिलगत्तै जिल्लागतरुपमा दरबन्दी अनुसार कर्मचारीलाई काममा खटाइने उहाँले बताउनुभयो । आसन्न १३ औँ दक्षिण एसियाली खेलकुद साग र नवौँ खेलकुदलाई पनि सहयोग पुग्ने गरी कर्मचारी व्यवस्थापनको कामलाई तीब्र पारिएको सिलवालको भनाई छ ।
पछिल्लो समय सेवा अवधि पुगेका कर्मचारीहरु धमाधम विदा भएर जाने क्रम पनि बढेकाले सबै बिषयलाई मध्यनजर राखी कर्मचारी ब्यवस्थापनमा लागेको उहाँको भनाई छ ।


