चितवन समाचार डटकम, ९ साउन ।
उद्योग वाणिज्य संघ चितवनले निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आज एक औपचारिक कार्यक्रमका बिच संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
संघले संस्थागत रुपमा यो रकम सहयोग गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , संघका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रकै गौरवको परियोजना भएकाले संघले संस्थागत रुपमा सहयोग रकम प्रदान गरेको अध्यक्ष प्रधानले बताउनुभयो । रंगशाला निर्माणले राष्ट्रको छवि बृद्धि हुने मात्र नभई चितवन जिल्लाको समग्र बिकासमा कोशेढुंगा सावित हुने प्रधानले वताउनुभयो ।
समृद्धिको सुचकका रुपमा रहेको रंगशाला निर्माणमा सबैको साथ सहयोग दिनानुदिन वृद्धि हुदै गएकोमा महानगर प्रमुख दाहालले खुसी ब्यक्त गर्नुभयो ।
जिल्लाबासीको उत्साहपूर्ण साथ सहयोगले आफुलाई प्रसस्त हौसला मिलेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाई छ ।
रंगशाला निर्माणका लागि चितवन वासीले फाउण्डेशनलाई दरिलो साथ दिएका छन् । प्रत्येक स्थानीय तहले सहयोग समिति समेत गठन गरेर काम अघि बढाएका छन् ।
केही दिन अघि मात्र चितवन निवासी उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य डाक्टर तीलचन्द्र भट्टराईले रंगशाला निर्माणका लागि ब्यक्तिगत रुपमा नगद रु दश लाख सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्वर १५ मा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिना देखि रोकिएको काम फाउण्डेशनले फेरी सुचारु गरिसकेको छ ।


