काठमाडौं, ९ साउन :
मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ ।
ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको महानगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ ।
महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार तीव्र गतिको कारले सोह्रखुट्टैको ओरालोको जय श्रीकृष्ण चस्मा पसलमा ठोक्किएर सडकमा उत्तानो परेको थियो ।
कार चालक सागरमाथा राई सकुशल छन् ।
अगाडी आएको दूधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको उनको भनाई रहेको प्रहरीले जनाएको छ । मापसे गरेर गुडाइएको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले सडकको बीचमा उत्तानो परेर रहेको कारलाई बिहानै हटाएको छ ।


