लमजुङको दोर्दी खोलामा आएको बाढी परी मृत्यु हुनेको संख्या ४ पुग्यो, ११ बेपत्ता

लमजुङ, ९ साउन :

दोर्दी खोलामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

उद्धारका क्रममा चार जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । उनका अनुसार बाढीबाट ५ जना घाइते भएका छन् भने ११ जना बेपत्ता रहेका छन्। बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको यकिन विवरण नआएकाले मानवीय क्षति अझ बढ्न सक्ने प्रजिअ भट्टराईले जानकारी दिए ।

दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिव ३ बजेतिर भीषण बाढी आएको थियो । बाढीमा परी मृत्यु हुनेमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यमा खटिएको कामदार र लिबर्टी जलविद्युत आयोजनाका कर्मचारी हुनसक्ने स्थानीयको भनाइ छ। बाढीले लिबर्टी हाइड्रो पावरमा क्षति पुगेको छ ।

प्राप्त शवको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। शवको पोस्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको उनले बताए ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार अहिले स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

शेयर गरौ

ताजा अपडेट