इरानी मिडियाले भने : बोरिस जोन्सन, बेलायतका डोनाल्ड ट्रम्प  

काठमाडौं, ८ साउन : 

इरानका मिडियाले बुधबार प्रधानमन्त्रीको पदभार सम्हाल्दै गरेका बेलायती नेता बोरिस जोन्सनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन् ।

धेरैजसोले जोन्सनलाई ‘बेलायतको डोनाल्ड ट्रम्प’ भनी टिप्पणी गरेका छन् । केही दिनअघि इरानले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिएपछि दुई देशबीच कटुता बढेको छ । यसअघि बेलायतले पनि एउटा इरानी ट्यांकर नियन्त्रणमा लिएको थियो ।

इरानप्रतिको अमेरिकी नीतितर्फ झुकाव राख्ने भएकाले इरानी सञ्चारमाध्यमले जोन्सनप्रति तिक्ततापूर्ण टिप्पणी गरेका हुन् । इरानको प्रसिद्ध पत्रिका साजेन्देगीले बुधबारीय अंकको पहिलो पृष्ठमा जोन्सनको पूर्ण तस्वीर छाप्दै ‘ब्रिटिश ट्रम्प’ शीर्षकमा समाचार लेखेको छ। अर्को पत्रिका जाम–ए–जमले ‘ट्रम्पको नक्कल गर्दै’ शीर्षकमा समाचार छापेको छ ।

त्यस्तै, अर्को इतेमादले ‘कट्टरपन्थीहरूद्वारा चुनिएका बोरिस जोन्सनको कार्यकाल लामो नहुने’ टिप्पणी गरेको छ। रिशालतले इरानविरोधी चारजनाको समूहमा पाँचौ सदस्य थपिएको टिप्पणी गरेको छ । उक्त पत्रिकाले चारजनाको समूह भनेर अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टोन, इजरायली प्रधानमन्त्री वेन्यामिन नेतान्याहु तथा साउदी राजकुमारद्वय मोहम्मद विन सलमान र मोहम्मद विन जियादलाई संकेत गरेको हो । सत्तामा आउँदै गरेका बोरिस जोन्सनका लागि ब्रेक्जिटको मुद्दा पहिलो र इरानसँगको समस्या दोस्रो चुनौतीपूर्ण विषय मानिएको छ । इरान र अमेरिकाबीच शत्रुता बढ्दै गर्दा बेलायत पनि उक्त मामिलामा फस्दै गएको छ ।

शेयर गरौ

ताजा अपडेट