काठमाडौं , ७ साउन :
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानविन गर्न गठन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिष्ठानको तेस्रो सभा बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि जनाएका हुन् ।
प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितीको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए । प्रधानमन्त्री ओलीले समितिले कूलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए ।
‘समितिले प्रतिवेदन सबभन्दा पहिला कूलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने । ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानुभएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ’ प्रधानमन्त्रीको चेतावनी थियो ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको भन्दै प्रतिवेदन कूलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिए पनि आफु त्यस्तो दबाबमा नपर्ने दावी गरे ।


