काठमाडौं , ७ साउन :
गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने बताएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताए । ‘गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो ।
हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ’, उनले भने, ‘अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन्। पूर्ण शान्ति छ भन्नेमा हामी पनि सहमत छैनौ । तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ ।’ गृहमन्त्री थापाले देशको स्थायित्व र संघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि दाबी गरे । गृहमन्त्री थापाले अहिलेसम्म५/६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए ।
गृहमन्त्रीले सरकारले नियन्त्रणको नीति लिएपछि विप्लवहरु वार्ताका लागि तयार भएर केही शर्त राखेको पनि बताए ।


