चितवन ६ साउन ।
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सस्थापक विशेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस देशभरी मनाइदैछ ।
प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नु भएका कोइरालाको २०३९ साउन ६ गते आजैका दिन निधन भएको सम्झनामा कार्यक्रम गरेर सम्झिदै आएको छ ।
उहाले नेपाली राजनीतिमा जसरी आफ्नो छाप छोड्नु भएका छ त्यसैगरी साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनु भएको छ । कोइराला १९७१ भदौ २४ गते जन्मनु भएको थियो । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री हुनु भयो ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित भएका छन् । ‘तीन घुम्ती’, ’मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ’नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो । प्रधानमन्त्रीत्वकालमा उहाले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि ल्याउनु भएको थियो ।
२०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
एक महिनापछि सेनाको सुन्दरीजलको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
२०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुर्नस्थपानाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।
उहाले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ। प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनु भयो ।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई २०६१ भदौ २४ गते विपी संग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । विपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण भइरहेको छ । विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र विपी संग्राहलय समितिले देशभर आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
चितवनमा एक हप्ता अगाडिदेखि उहाँको स्मृतिमा प्रवचान, वृक्षारोपणलगायतका कार्यक्रमहरु गर्दै आएको छ ।


