चितवन समाचार डटकम
२ साउन ।
थप काम गर्न बजेटको अभाव भएपछि भरतपुरमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रको काम रोकिएको छ ।
सरकार र उद्योगीको लगानीमा निर्माण भइराखेको प्रदर्शनी केन्द्रमा थप निर्माणको लागि उद्योगीले पैसा उठान नसक्दा काम रोकिएको हो । सरकारले १५ करोड र उद्योगीले थप १५ करोड लगानी गरिसकेका छन् । अझै १२ करोड भन्दा धेरै लाग्ने भएपनि त्यो रकम जुटाउन नसक्दा काम नभएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले जानकारी दिनु भयो ।
अध्यक्ष दवाडीले भन्नु भयो ‘संघको अगुवाइमा निर्माणको अन्तिम चरणमा रहेको प्रदर्शनी स्थललाई बजेटको अभाव भएपछि अहिले काम रोकिएको छ ।’ नेपाल सरकार र उद्योगीको लगानीमा नेपालमा नै पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्र निर्माणाधिन अवस्थामा रहेको छ ।
तीन वटा प्रदर्शनी घर, संघको सचिवालय, प्रदर्शनी स्थलको अलगै सचिवाल, शौचालय, फुडकोट, सजावट गरेर ४१ करोडको लागत निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । संघ अन्तर्गत रहेको चितवन प्रदर्शनी केन्द्र परियोजना प्रमुख रोचक अधिकारीले भन्नु भयो ‘अहिलेसम्म २९ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ, अझै काम पूरा भएको छैन, सम्पन्न हुनको लागि १२ करोड ५० लाख रुपैयाँ आवश्यकता पर्दछ ।’ प्रदर्शनी निर्माणको लागि नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५को बजेटमा १५ करोड रुपैयाँ अनुदान दिएको थियो ।
सरकारले दिएको अनुदानमा उद्योगीहरुले चन्दा उठाएर अहिलेको अवस्थासम्म ल्याउन सफल भएको संघका अध्यक्ष दवाडीले भन्नु भयो । नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ चितवन, अन्य उद्योगीहरुसंग चन्दा सहयोग उठाएर निर्माण कार्य गरिदै आएकोमा बजेट सकिएको अन्यबाट नआएपछि काम बन्द भएको उहाले जानकारी दिनु भयो । दवाडीले भन्नु भयो ‘नेपालमानै आधुनिक प्रदर्शनी स्थल निर्माणको अन्तिम चरणमा छ, यसलाई सरकारले दायित्व ठान्नु पर्दछ ।’
संघका अध्यक्ष दवाडीले भन्नु भयो ‘१५ करोड रुपियाँ निजि क्षेत्रबाट उठाएर निर्माणको काम भैसकेको छ, संघ र प्रदेश सरकारसंग बाँकी १७ करोड रुपियाँ मागेका छौ अहिले आइसकेको छैन ।’ उहाले भन्नु भयो ‘सहयोग गर्छौ भनेर दुवै तहका सरकारले आश्वासन दिनु भएको छ, तर बजेट आएको छैन ।’ योजनालाई सम्पन्न गरे अन्तरराष्ट्रिय स्तरको स्थायी प्रदर्शनी नेपालमा नै भन्न पाइने छ र यसले आर्थिक गतिविधि चलायमान हुने उहाको भनाइ छ ।
२०७४ सालबाट निर्माण कार्य शुरु भएको प्रदर्शनी स्थलको ८० प्रतिशत काम सम्पन्न भएको चितवन प्रदर्शनी केन्द्र परियोजना प्रमुख अधिकारीले जानकारी दिनु भयो । प्रदर्शनी केन्द्रको भवनमा एसी जडान कार्य सकिएको छ । भित्री काम सकिएपनि बाहिरको सजावट, बाटो, ढल, पानीको फोहरा, बगैंचा, सचिवाललगायतको निर्माण कार्य बाँकी रहेको छ ।
चितवन उद्योग संघका प्रशासन प्रमुख गोविन्दप्रसाद पौडेलले भन्नु भयो ‘निर्माण सकिएपछि विकसित देशमा जस्तै बाह्ै महिना प्रदर्शनी गर्न सकिन्छ ।’ लाखौ रुपियाँ खर्च गरेर विदेशमा प्रदर्शनी अबलोकन गर्ने, त्यहाँको प्रविधि नेपाल भित्राउने बाध्यता हटेर जाने उहाले बताउनु भयो । निर्माणाधिन अवस्थामा नै यहाँ अन्तरराष्ट्रिय पोल्टी प्रदर्शनी, कृषि मेसिनरी मेला आयोजना भइसकेको छ । आउदो मंसिर ६ देखि ९मा कृषि प्रदर्शनी, फागुन १६ देखि १८ दोस्रो पोल्ट्री एक्सपो, चैत्र ७ देखि ९ एग्री टेक एक्सपो प्रदर्शनी हुने तय भएको छ । दशै मेला, औद्योगिक प्रदर्शनीको मिति तय हुन बाँकी रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको २ विगाह ७ कठ्ठा जमिनमा २९ वर्षको लागि लिजमा लिएर निर्माण थालिएको हो । भरतपुर महानगरपालिका वडा नंं १० मा रहेको यो केन्द्र जिल्लाको मुख्य क्षेत्रमा पर्दछ ।


