काठमाडौ, २९ असार :
अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण विभिन्न खालका स्वास्थ्य संक्रमण हुन सक्ने भन्दै चिकित्सकले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाएका छन् ।
पानीजन्य रोगहरुको संक्रमण बढ्ने भएकाले यो बेला विशेष गरी शुद्द पानी पिउन चिकित्सकले सुझाएका छन् । राहत वितरण गर्दा वितरणकर्ताले राहत सामग्रीमा पानीलाई प्राथमिकतामा राख्नु पर्ने उनीहरुकोे सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार झाडापखाला, ठाइफाइड, हेपाटाइटिस लगायतका सरुवा रोग फैलन सक्ने हुन्छ ।
यसका लागि सर्वसाधारणलाई शुद्द पानी पिउन उहाँको सुझाव छ । सरकार लगायत विभिन्न संघ संस्थाले राहत सामग्री वितरण गर्दा पानीलाई प्राथमिकतामा राख्न सके बाढीपहिरो पीडितहरले केही हदसम्म पानीजन्य संक्रमणबाट बच्न सक्ने उहाँको भनाई छ । त्यसकारण पनि राहत वितरणकर्ताले पानीमा बढी जोड दिनुपर्ने उहा“ सुझाउनुहुन्छ ।
बाढी पहिरोका कारण बस्नका लागि पनि समस्या भइरहेको अवस्थामा उमालेर, निर्मुलीकरण गरेर पानी खाने अवस्था नहुने भएकाले पनि राहत सामग्री वितरणकर्ताले पानी वितरणमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।


