अझै तीनदिन भारी वर्षा हुने ः नदी तटीय क्षेत्रमा जोखिम, सतर्क रहन सबैमा आग्रह

 

काठमाडौं, २७ असार । मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।

आज बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षा समेत हुनेछ ।

पूर्वी र मध्यमा एक–दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।

यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ । देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षा समेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।

त्यसैगरी शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनन अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ५१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी सिमरामा २०६, विराटनगरमा १७२, ओखलढुङ्गामा १०७, धनकुटामा १०३ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा २७, भैरहवामा २४, नेपालगञ्जमा १२ र धनगढीमा १५ मिलिमिटर वर्षा भएको छ ।

नदी तटीय क्षेत्रमा उच्च खतरा

निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आज बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तह नजीक पुगेको छ । कोशी नदीमा बहाव सतर्कता तह नजीक पुगेको छ । प्रदेश नं १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा रहेको तथा भोलीसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ ।

विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’
मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’ को अवस्थामा रहेका छन् ।

विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रीत भएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य सङ्घसंस्था उच्च तयारीमा जुटेको छ ।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उक्त योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ ।

हरेक क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्नो उद्धार टोली तयारी अवस्थामा राखेका छन् । नेपाली सेनाले काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसहित उद्धार टोली राखेको खनालले जानकारी दिए । उनले भने, ‘विपद्मा हुने सम्भावित घटनाको उद्धार र राहतका लागि सबै तयारी भएको छ, प्रदेश, जिल्ला र स्थानीय तह पनि तयारी अवस्थामा छन्, समग्रमा भन्दा सरकार ‘हाइ अलर्टमा छ’ ।’

हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ । अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ । जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृह मन्त्रालयको रहेको छ । नेपालको संविधान २०७२ ले विपद्मा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ । संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

मौसम सूचना प्रणाली प्रभावकारी
मौसम तथा नदीमा बाढी सतहको पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभाग र बाढी महाशाखाले सूचना र प्रविधिको प्रयोग गर्दै पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार हाल नेपालमा तीन दिनसम्मको मौसमको जानकारी दिन सकिने अवस्था रहेको केही महिना भित्रमै मौसमको कुनै खतरा हुने वित्तीकै मोबाइलमा सन्देश पठाउन सक्ने गरी प्रविधिको विकास गर्न लागिएको छ । यसले अझै मौसमको जानकारी थप प्रभावकारी हुने श्रेष्ठले बताए ।

गृह मन्त्रालयका अनुसार विभागले नदीको जलाधारक्षेत्र मध्य २४४ जोखिम क्षेत्र पहिचान गरेको छ । त्यमध्ये मुख्य नदीमा हुने बाढीको पूर्वसूचना दिने गरिएको छ । पूर्व सूचनाका लागि एसएमएस प्रणालीदेखि वेबसाइटबाट जानकारी दिने तथा खतरा र चेतावनीको सूचनाका लागि साइरन बजाउनेसम्मका काम भइरहेको छ ।

शेयर गरौ

ताजा अपडेट