चितवन २६ असार । देवघाट क्षेत्र विकास समितिले कार्यालयका लेखापाल किरणराज पौडेललाई निलम्बन गरेको छ ।
कार्यालयमा रहदा आर्थिक अनियमितता गरेको भन्दै निलम्वन गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो ।
समितिका नायब सुब्बा पौडेलले लेखापाल पदमा रहदा समितिका पदाधिकारीहरुले पाउने बैठक भत्ता बराबरको रकम ६० हजार ५ सय आफैले राखी समिति सदस्य र पदाधिकारीहरुलाई नदिएको, कार्यालय समयमा पटकपटक मदिरा सेवन गरेर आएको, तत्कालिन कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरेको भन्दै तत्काल ६ महिनाको लागि निलम्बन गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनु भयो ।
गत असार १३ गते तत्कालिन सदस्य संगिता ओझाले आफुले पाउनु पर्ने भत्ता बराबरको रकम नपाएको भनी निवेदन दिएपछि छानविन गर्दा ओझा लगाएत अन्य पदाधिकारीहरुले समेत रकम नपाएको देखिएको छ घिमिरेले भन्नु भयो ‘सो रकम स्वयम् पौडेलले लिएको देखिन आएको छ ।’
त्यसैगरी २०७२ ÷ ७३ को स्वीकृती वार्षिक कार्यक्रम अनुसार बेणी जुगेडी धार्मिक मार्ग शिर्षकबाट तीन लाख रुपैया तत्कालिन कार्यकारी निर्देशक जयकृष्ण शर्माको किर्ते हस्ताक्षर गरेको लगाएतका कारण उहालाई निलम्बन गरिएको हो ।
उहाँको गतिविधिका कारण आर्थिक नोक्सानी भएको आधारहरु फेला परेका छन् त्यसैले हाल लाई पौडेल माथि छानविन गर्नका लागि निलम्बन गरिएको हो क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भन्नु भयो ।


