राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई

काठमाडौं, २५ असार :

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उहाँले अग्रगमन तर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्षामन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको बताउनुभयो । “तराई मधेशका जनताको असल चालचलन, इमान्दारी र प्रचूर मात्रामा रहेको देशभक्तिपूर्ण भावनाको वर्णन गरेरै सकिन्न”, उहाँले भन्नुभयो, “विगतमा भएको नजानिँदो भेदभावपूर्ण व्यवहारले अन्यायमा परेको मनोविज्ञानलाई तोड्दै मुलुकको विकास र समृद्धिका लागि एकाकार भएर अघि बढ्न आवश्यक छ ।”

उहाँले अग्रगमन तर्फ अघि बढ्ने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणका माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्ने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट