काठमाडौं, २४ असार :
एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ।
नेपालले हङकङविरुद्ध ६ विकेटको जित दर्ता गराएको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ। सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले दिएको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो । नेपाललाई उपाधि दिलाउने क्रममा पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए।
त्यस्तै रित गौतमले १४ बलमा १३ रनको योगदान दिए । खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके । त्यसैगरी रोहितकुमार पटेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । हङकङका लागि रौनक कपुरले २ विकेट लिए। मोहम्मद हसन खान र मोहम्मद हसन १/१ विकेट लिन सफल भए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङले ९५ रनको झिनो स्कोर बनाएको थियो । नेपाली बलरसामू व्याट्सम्यानहरु चल्न नसक्दा हङकङ दोहोरो स्कोरमै खुम्चिएको थियो। हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो ।


