काठमाडौं, २० असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ‘आइफा’ अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत भएको दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आइफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको आरोप समेत लगाएका छन् ।
तात्कालीन नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपा पार्टीमा प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’
आइफा अवार्ड नेपाल सरकारको खर्चमा आयोजना हुने तयारी भएपछि स्वयम् सत्तारुढ सांसदहरुको विरोधमा रोकिएको छ । विशेष गरी स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली सूत्राधार रहेको आइफा अवार्ड नगर्ने निर्णयमा पुग्नु पर्दा प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका छन् ।


