काठमाडौ २० असार :
अमेरिकामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ ।
पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको बीबीसीले उल्लेख गरेको छ । उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् । केन्द्रविन्दु रहेको सहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् । तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने स्थिति नियन्त्रणमा रहेको ट्विटमार्फत उल्लेख गरेका छन् ।


