काँग्रेसको लफडाले रोकिएको गैंडाकोटको नगरसभा शुरु , बजेट ६४ करोड ६८ लाख

हिमालदेव पंगेनी
गैडाकोट, आषाढ १८ ।
नेपाली काँग्रेसका प्रतिनिधीले अड्चन गरेर  समयमै हुननसकेको पूर्वी नवलपरासीमा रहेको गैंडाकोट नगरपालिकाको पाँचौ नगर–सभा बुधबार सूरु भएको छ । आषाढ १० गते भित्र गर्नुपर्ने नगर सभा गैंडाकोटले आज बाट शुरु गरेको हो ।
गैंडाकोट रिर्सोटको सभा हलमा भएको नगर सभामा गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख पौडेलले समृद्ध गैंडाकोट महाअभियानलाई सार्थक तूल्याउने भन्दै विभिन्न योजना अनुरुप नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । यस्तै नगर—उप प्रमुख विष्णुकुमारी कंडेलले आर्थिक वर्ष २०७६ र ०७७ को बजेट प्रस्तुत गर्नुभएको सो नगरसभामा उहाँले ६४ करोड ६८ लाख ७३ हजार ३ सय ९९ रुपैयाँको बजेट सिलिङ सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आन्तरिक श्रोतबाट १० करोड ३७ लाख रुपैयाँ यस्तै प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त अनुदान करिब ५४ करोड ३१ लाख गरि कुल ६४ करोड ६८ लाखको बजेट सार्वजनिक गर्नुभएको हो । नगरशभामा सार्वजनिक भएको बजेट सिलिङ अनुसार अब भुगोलका आधारमा ठुला ३ वडालाई ८० लाखका दरले नगरपालिकाले वितरण गर्ने कार्यक्रम रहेको छ भने बाँकी रहेका सबै १५ वटा वडामा ७० लाख रुपैयाँको बजेटको व्यवस्थ गर्ने गरी सिलिङ तोकिएको छ । नगरपालिकाले नगरमा ल्याउने खासै नयाँ कार्यक्रम नरहेको भएपनि केहि नयाँ कार्यक्रमहरु ल्याउने योजना रहेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो ।
अन्य विस्तृतमा छलफल भने यहि असार २५ गते गैंडाकोट रिर्सोटमा गरिने नगरपालिकाका नगरप्रमुख पौडेलले जानकारी दिनुभएको छ ।
यसैबीच नवलपुरका सातवटा स्थानीय निकायमा नगरशभा सम्पन्न भइसकोको सन्दर्भमा नगरसभा समयमै किन गर्न सकिएन भन्ने प्रश्नमा नगरप्रमुख पौडेलले विभिन्न कारणले तयारी गर्न नसकिएको भन्दै तयारीको अभाव र केही आन्तरीक विवादनै मूख्य कारण रहेको बताउनुभयो ।
उता नगर उपप्रमुख कंडेलले भने हाम्रा धेरै कार्यहरु क्यालेन्डर अनुसार चल्न नसकीरहेको भन्दै नगरसभाको सञ्चालनको बारेमा बचाउ गर्नुभयो । कुराकानीको क्रममा उहाँले प्रत्यक्ष रुपमा आन्तरीक विवाद नै कारण भन्न नचाहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट नगरप्रमुखमा छत्रराज पौडेलले निर्वाचन जितेदेखिनै नगरप्रमुखले गरेका हरेक निर्णयहरुमा बखेडा निकालेर नगरकार्यपालिकाको बैठकमा प्रमुखको एजेण्डालाई पटक पटक असफल गराउने गतिविधिका कारण कतिपय बैठकहरु अनिर्णित बन्दै गएका छन् । हरेक वर्ष नगरसभा समयमा पनि विना कारण बखेडा झिकेर नगरसभा समयमै गर्ने नगरप्रमुखको प्रयासलाई असफल गराउदै आइएको छ ।
यसपटक पनि यही असार १० गते भित्र गर्नुपर्ने नगरसभा पनि अनावश्यक विवादका कारण रोकिएको वडा नम्बर २ का वडा अध्यक्ष धु्रवराम पौडेलले बताउनुभयो । उहाँले समयमै सम्पन्न गर्ने आफुहरुको प्रस्तावलाई बहुमतको दम्भ देखाएर नगरप्रमुखको अधिकारलाई हनन् गर्ने नियतले चाँडो गर्न नसकिएको बताउनुभयो । नगरकार्यपालिकामा नेकपाको १० र नेपाली काँग्रेसको १८ सदस्य रहेका छन् । नगर कार्यपालिकामा पक्ष र प्रतिपक्षको कल्पना नगरेपनि पटक पटक नगरपाकिलामा बहुमत छ भन्ने दम्भका कारण जनताको पक्षमा कतिपय निर्णयहरु गर्न नसकि बैठक स्थगित गर्न बाध्य भएकोे उहाँले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट