नेपालको श्रमशक्तिको समुचित उपयोग हुने : प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार :

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।

पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई मंगलबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने योजना विश्वविद्यालयले बनाउनसक्ने उल्लेख गरे। ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ ।

तर बाहिर गइरहेको छ। देशमा काम पाएको छैन। पायो भने सीप र क्षमता छैन’, उनले भने, ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यन्वयन शुरु गर्नुपर्दछ।’ प्रधानमन्त्री ओलीले नेपाल विद्वान पुर्खाको देश भएको बताए। पौराणिक कालका ऋषीमुनीहरूले यही भूमिबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘शासकहरूमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो ।

तर अब यो अवस्था लामो समय रहँदैन ।’ प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा गतिलो योग्यता हासिल गरेका मानिस पनि बरोजगार बन्‍नुपरेको बताए। ‘कसैले खेत बेचेर पाइलट बनेका छन्। तर जहाजको छेउमा पनि जान पाउँदैनन्’ प्रधानमन्त्री ओलीले भने ‘यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ ।

त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ।’ प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको विष्लेशण गरेर मात्रै विश्वविद्यालयहरूले नयाँ शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिनुपर्ने बताए । ‘विश्वविद्यालयहरूले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ।

शेयर गरौ

ताजा अपडेट