सकियो रत्ननगरको नगर सभा,बजेट सहित नीति तथा कार्यक्रम पारित

रत्ननगर १६ असार ।
नीति तथा कार्यक्रम र बजेट परित गर्दै रत्ननगर नगरपालिकाको पाँचौं नगर सभा सोमवार सकिएको छ । जेठ १० गतेबाट सुरु भएको नगर सभा सोमवार नीति तथा कार्यक्रम र बजेट पारित गरी समापन गरिएको मेयर नारायण वनले जानकारी दिए । नगरपालिकाले नगर शिक्षा ऐन २०७४ लाई सशोधन गरी वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने प्राबधानलाई केही खुकुलो बनाएको छ । संशोधित ऐनमा नगर शिक्षा समितिमा शिक्षक महासंघको अध्यक्ष शिक्षा समितिको पदेन सदस्य रहने व्यवस्था गरेको छ । नगर सभाले सहकारी संस्था निर्देशिक २०७५,सहकारी मापदण्ड २०७५,बजार अनुगमन निर्देशिका २०७६ र मेलमिलाप समितिको कार्यविधि,आर्थिक ऐन २०७६ र विनियोजन ऐन २०७६ पारित गरेको विधेयक समितिका संयोजक तिलकराज शर्मा पौडेलले जानकारी दिए । नगर सभाको समापन कार्यक्रममा मेयर नारायण वनले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्दै रत्ननगरलाई विकासको उचाईमा पुर्याउने काममा ध्यान केन्द्रित गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले अहिले सम्म भएका कामको समीक्षा गर्दै नगरबासीलाई विकासको अनुभूति दिलाउने गरी अबको बर्षमा काम गर्नुपर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले विनियोजित बजेट कार्यान्वयन गर्दै जनतालाई विकासको अनुभूति गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताइन । नगर सभाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सहित एक अर्ब ५ करोड ३२ लाख रुपैया बरावरको बजेट विनियोजन गरी पारित गरेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । नगर सभामा वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडासदस्यहरुले नीति तथा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट