चितवनका सुनचाँदी व्यवसायीलाई एसपी मल्लले भने, ‘ढुक्क संग ब्यापार गर्नु’

अमिर रामदाम,
चितवन समाचारडटकम , १६ असार ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एस. पी दानबहादुर मल्लले चितवन जिल्लालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँदै सबै मिलेर समृद्ध चितवनको परिकल्पना गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज नारायणगढ जेसीजको सभाहलमा आयोजना गरेको व्यवसाय अन्तरक्रिया कार्यक्रम एस.पी मल्लले सो कुरा बताएका हुन् ।
उनले चितवनमा व्यवसायीलाई ढुक्क संग व्यवसाय गर्न आग्रह गरेका छन् । त्यस्तै सुनचाँदी व्यवसायलाई प्रहरी प्रशासनबाट हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्ने एस.पी मल्लले प्रतिबद्धता गरेका छन् ।
उनले बेलावखतमा प्रहरी प्रशासनबाट सुनचाँदी व्यवसायीलाई गरिरहेको ज्यादतीलाई अन्त्य गर्ने उद्घोष गरे ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले सुनचाँदीका गरगहना पसलमा नै उत्पादन सम्भब नहुने भएकाले सुनचाँदीका गरगहना आयात तथा निर्यातको विषयमा सरकारले छुट्टै नीति ल्याउन पर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्माले विना सत्यतथ्य प्रहरी प्रशासनद्वारा सुनचाँदी व्यवसायीलाई चोर सरह गर्ने व्यवहारमा तत्काल परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सल्लाहकार गोविन्द पाध्यको उपस्थीति रहेको थियो ।
कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष अधिवक्ता जिवनज्योति विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट