चितवन , असार १०-
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा रहेको छ । तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गर्न बाध्य भएको सो अस्पताल अहिले सुधारोन्मुख अवस्थामा रहेको हो । अस्पतालका उपकरण बिग्रिएका, आवश्यक सामग्रीको अभाव, चिकित्सक कर्मचारीले काम नगरी निजीमा केन्द्रित भएपछि अस्पताल अस्तव्यस्त भएको थियो । चौतर्फी दबाबपछि स्थानीय प्रशासनले अस्पतालमा हस्तक्षेप गरी सुधारका लागि दबाब दिएको थियो । सो पश्चात् अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको स्थानीयवासी बताउँछन् ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले आफू प्रवेश गर्दा सङ्क्रमणकालीन अवस्थामा रहेको अस्पतालमा निकै काम गर्न सकेको बताउनुभयो । १९४ श्ययाको सो अस्पताललाई गत वर्षवाट ४४३ श्यया बनाइएको छ । सेवाको अभावमा बिरामी कम हुँदा तीन वर्षअघि सम्म दैनिक रु तीन लाखको हाराहारीमा राजश्व सङ्कलन हुँदै आएकामा अहिले बढेर रु २२ लाख पुगेको आचार्यको भनाइ छ । क्यान्सर बिरामीका लागि अत्यावश्यक मानिने रेडियोथेरापी मेशिनको अभावमा दैनिक ६० जना हाराहारीले मात्र अस्पतालमा सेवा पाउने गरेका थिए । बिग्रिएका उपकरण बनाउने र नयाँ थपिने क्रमसँगै अहिले दैनिक १६० जनाले यो सेवा पाउने गरेको अस्पतालले जनाएको छ ।
रेडियोथेरापी विभागमा आइजिआरटीसहितको रेडियोथेरापी क्लिन्याक नाइन मेशिनबाट पहिलोपटक सेवा प्रारम्भ गरिएको छ । नेपालमा नै पहिलोपटक जडान भएको सी।टी सिमुलेटर मेशिन र शरीरको भित्री भागमा रेडियोथेरापी गर्ने ब्राकी थेरापी मेशिनबाट प्रदान गर्ने सेवा सञ्चालनमा आएको कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो ।कार्यकारी निर्देशक आचार्यका अनुसार प्याथोेलोजी विभागमा रहेका सम्पूर्ण उपकरणहरु सञ्चालनमा ल्याई पहिलोपटक लिक्युड वेस्ड साइटोलोजी सेवा शुरुआत गरिएको छ । यसले मुख्यतः बायोप्सीका लागि तीन महीनासम्म कुर्नुपर्र्ने बाध्यता हटेर तीन हप्तासम्ममा नतिजा आउने गरेको छ । पुरानो प्रविधिबाट हुने गरेको क्यान्सर स्क्रिनिङ सेवाको सट्टामा एलविसी नामक नयाँ उपकरणसहितको सेवा शुरु गरिएको आचार्यले बताउनुभयो ।
दश वर्षअघि देखि बन्द रहेकोे शल्यक्रिया गर्दागर्दै बिरामीको मासु जाँच गरी क्यान्सर छ वा छैन वा कति फैलिएको छ, पत्ता लगाउने उपकरण पुनः सञ्चालनमा ल्याइएको छ । जसकारण क्यान्सर बिरामीको शल्यक्रियामा चिकित्सकलाई सहज हुने गरेको छ । अस्पतालमा अत्याधुनिक प्रकृतिको आठ वटा मोडुलर शल्यक्रिया टेबलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।यस्तै अत्याधुनिक ल्योप्रोस्कोपी मेशिनबाट दिइने सर्जरी सेवा सञ्चालन गरिएको उपनिर्देशक डा निर्मल लामिछानेले बताउनुभयो । रेडियोडायग्नोसिस विभागमा भिडियो एक्स–रे, म्यामोग्राफी, एमआरआई सेवा अवरुद्ध भएकामा मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ ।
सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको लामिछानेको भनाइ छ । सर्जरी विभागको गाइने, युरो, जिआई, स्तन, न्यूरो, अर्थोपेडिक शाखावाट दिइँदै आएको सेवाको अतिरिक्त शल्यक्रियाको दिनमा समेत बहिरङ्ग सेवा दिन शुरु गरिएको छ ।क्यान्सरका बिरामीलाई धेरै रगतको आवश्यक पर्ने गरेकामा प्लेटलेटफेरेसिस नामक उपकरण जडान गरी बिरामीलाई आवश्यक पर्ने रगत छुट्याएर एउटै रगतको पोकाबाट धेरै बिरामीलाई दिने व्यवस्था मिलाइएको छ ।
समयमा बोलपत्र आह्वान नहुँदा हुने गरेको समस्याको अन्त्य गर्दै अस्पतालले वार्षिक बोलपत्र आह्वानको प्रक्रिया समयमा नै सम्पन्न गरी खुद्रा खरीद प्रणालीको अन्त्य गरेको जनाएको छ । आचार्यले १२ वर्षदेखि रोकिएको कर्मचारीको वृत्तिविकास एवं पदपूर्तिको काम लोकसेवामार्फत अघि बढाएको, पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर क्यान्सर विषयमा नर्सिङ स्नातकको पढाइ शुरु गरिएको, बहिरङ्ग सेवामा टोकन प्रणाली लागू गरिएको र अस्पताल परिसरमा सिसी क्यामेरा जडान गरेर सेवालाई अझ बढी प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।
अस्पतालले दुई स्थानमा फार्मेसी स्थापना गरी सस्तो मूल्यमा औषधि बिक्री शुरु गरेको छ । अस्पतालको सुधारसँगै उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यताबाट केही कमी आएको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले जानकारी दिनुभयो । अस्पतालमा गएको असोज ३ गतेबाट अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्षको नियुक्त गरी पु¥याउन नसकेका सेवाहरु पु¥याउन सकेमा देशको मात्र होइन एशियाको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने लामिछानेले बताउनुभयो ।अस्पतालका सेवा पहिलेको भन्दा सुधार भए पनि अरू बढी सुधार गर्नुपर्ने अवस्था विद्यमान रहेको उहाँले बताउनुभयो । रासस


