चितवन समाचार डटकम
७ असार ।
चितवनको सातवटा मध्य छ वटा पालिकाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेका छन् ।
एउटा गाउपालिका बाहेक एक महानगरपालिका र पाँचवटा नगरपालिकाले रोजगार कार्यक्रम लागु गरेको हो । शनिबारसम्म तीनसय भन्दा धेरैले रोजगार पाएका छन् । रोजगारमा बृक्षारोपण, बाटो निर्माण, कुलो सरसफाइ, चौतारो निर्माण लगायतको काममा सहभागी भएका छन् ।
राप्ती नगरपालिका
जिल्लाको पूर्वी क्षेत्र राप्ती नगरपालिकामा ४५ जनाले यस कार्यक्रमबाट रोजगार पाएका छन् । राप्ती नगरपालिकाकी प्रमुख प्रभाव वरालले भन्नु भयो ‘आवश्यकताको आधारमा हामीले यो रोजगार कार्यक्रम मार्फत जनशक्तिलाई काममा लगाएका छौ ।’ ७ वटा वडामा कार्यक्रम सञ्चालन हुने भएपनि अहिले वडा नंंं. १० र ३ मा मात्र कार्यक्रम शुरु गरिएको वरालले जानकारी दिनु भयो ।
नगरपालिकाको पहाडी क्षेत्र १०, ११, १२ र १३ नं. वडामा कार्यक्रम लागु गरिन्छ । यहाँ साविकको लोथर, कोराक लगायतको पहाडी गाविसहरु रहेका छन् । यहाँका स्थानीय कामको अभावमा तराइ झर्ने गर्नछन् । उनीहरुलाई नै लक्षित गरी कार्यक्रममा सहभागी गराउने उहाले बताउनु भयो । त्यस्तै गरी नगरको तराइ क्षेत्रको १ र ३ नं. वडामा कार्यक्रम लागु गरिदैछ । यस नगरपालिकामा स्वरोजगारको लागि २६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।
खैरहनी नगरपालिका
खैरहनी नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अहिले १६ जनाले काम पाएका छन् । उनीहरुलाई नगरपालिकाले फलफूल रोप्ने, वृक्षारोपणमा लगाउने, बगैचा लगाउने जस्ता काममा सहभागी गराएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनु भयो । उहाका अनुसार नगरपालिकाको विकास निर्माणमा नै जनशक्ति परिचालन गर्ने गरी काममा लगाएको हो । यस नगरपालिकामा २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । आवश्यकता अनुसार नगरपालिकाको वडाहरुमा कार्यक्रम सञ्चालन गरिने उहाले जानकारी दिनु भयो ।
रत्नगर नगरपालिका
यस नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अहिले एकसय जना भन्दा धेरैले काम पाएका छन् ।
नगरपालिकाका प्रमुख नारायण वनले भन्नु भयो ‘हामीले अहिले कुलो निर्माण तथा सरसफाइको काममा मजदुरहरुलाई सहभागी गराएका छौ ।’ प्रति व्यक्ति ६४० रुपैयाँका दरले कामदारलाई दिएको उहाले बताउनु भयो । यस नगरपालिकामा ३३ लाख रुपैया कार्यक्रमको लागि छुट्टाइएको छ । नगरपालिकाले अहिले ४ वटा वडामा कार्यक्रम शुरु गरेको छ । बाकी वडामा पछि सञ्चालन गर्ने प्रमुख वनले बताउनु भयो ।

कालिका नगरपालिका
जिल्लामा सबै भन्दा पहिला कार्यक्रम शुरु गरेको कालिका नगरपालिकाले एउटा वडामा मात्र लागु गरेको छ । नगरपालिकाको अन्य कामको चापले एउटामा मात्र अहिले शुरु गरेको वडा नं. ६ का अध्यक्ष विनोद रेग्मीले जानकारी दिनु भयो । १५ लाख रुपैयाँ यस कार्यक्रमको लागि आएकाले यसले माग अनुसार नपुग्ने उहाले बताउनु भयो । नगरपालिकामा अहिले २० जनाले काम गरिराखेका छन् ।
माडी नगरपालिका
जिल्लाको निकुञ्ज पारि रहेको माडी नगरपालिकामा प्रधानमन्त्री रोजगार मार्फत अहिले एकसय भन्दा धेरैले काम गरेको कार्यक्रम संयोजक यमुना ढकालले बताउनु भयो । काममा लागेकाहरुले सामुहिक खेती, चौतारो निर्माण, भुसंरक्षणको लागि पर्खा निर्माण सहभागी रहेको संयोजक ढकालले जानकारी दिनु भयो । यस नगरपालिकाको वडा नंं ८ र ५ मा कार्यक्रम शुरु भएको छ । स्वरोजगार कार्यक्रमको लागि १८ लाख रुपैयाँ आएको कार्यक्रम संयोजक ढकालले बताउनु भयो । अरु वडामा पछि कार्यक्रम लागु हुने जानकारी दिइएको छ ।
भरतपुर महानगरपालिका
२९ वटा वडा रहेको भरतपुर महानगरपालिकाको एउटा वडामा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । २१ र २२ नं. वडामा शुक्रबारबाट कार्यक्रम शुरु भएको हो । रोजगारको लागि १ करोड रुपैया रहेको यहाँ विस्तारै अन्य वडामा पनि कार्यक्रम लागु गरिने महानगरपालिकाले जनाएको छ । त्यसेै गरि वडा नम्वर २१ २२ मा कार्यक्रम शुरु भएको छ । एउटा पहाडी वडा रहेका यहाँ २८ वटा वडा तराइको भू भाग रहेको छ ।
इच्छाकामना गाउँपालिका
जिल्लाको एउटा मात्र गाउपालिका रहेको इच्छाकामना गाउपालिकामा प्रधानमन्त्री रोजगाार कार्यक्रम लागु भएको छैन । गाउपालिकाकी प्रमुख गिता गुरुङले भन्नु भयो ‘ विभिन्न कामले गर्दा कार्यक्रम लागु गर्न सकिएको छैन अब छिट्टै लागु गर्ने तयारी छ ।’


