नेकपाले देशव्यापी रुपमा जागरण अभियान शुरु गर्ने

काठमाडौं १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा जागरण अभियान शुरु गर्ने भएको छ । पार्टी एकतापछि केन्द्रदेखि गाउँसम्म नेकपाले जागरण अभियान शुरु गर्ने जनाएको छ । पार्टी एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै जागरण अभियान शुरु हुँदैछ ।
नेकपा स्थायी कमिटीका सदस्य देबेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने जानकारी दिनु भएको छ । पार्टी एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै पार्टीले छिट्टै नै देशव्यापी जागरण अभियान सञ्चालन गर्ने उहाले बताउनु भयो ।

‘दुई ठूला कम्युनिष्ट पार्टीबीचमा एकता भयो तर, लामो समयसम्म कार्यकर्ताबीचमा पुग्न नसकिएकै हो’, पौडेलले भन्नु भयो, ‘गाउँदेखि केन्द्रसम्म पार्टीले जागरण अभियान सञ्चालन गर्छ ।’

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट फर्किएसँगै पार्टीको सचिवालय बैठक बस्ने उहाले बताउनु भयो । अब बस्ने सचिवालय बैठकले एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै देशव्यापी रुपमा जागरण अभियानको कार्यक्रम पनि आउने उहाले बताउनु भयो ।

एमाले र माओवादी केन्द्रबीचमा एकता भएपछि कुनै ठोस कार्यक्रम भएको छैन् । प्रशिक्षण, भेला, बैठक, सभालगायतका बिभिन्न कार्यक्रम लिएर गाउँ–गाउँसम्म पुग्ने योजना नेकपाले बनाउँदैछ । केन्द्रदेखि गाउँसम्म सरकारले गरेका राम्रा कामको प्रचार, पार्टी एकताको सन्देश दिनेलगायतका बिषयमा जागरण अभियान केन्द्रीत हुने कार्यक्रम बन्दैछ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले जागरण अभियान सञ्चालन हुने बताउनु भयो । सरकारले गरेका कतिपय राम्रा काम बुझाउन नसकिएको बताउँदै उहाले सरकारका राम्रा कामका साथै पार्टी एकताका विषय लिएर जागरण अभियान सञ्चालन हुने उहाले बताउनु भयो ।

‘हामीले अझै पार्टी एकताका साथै सरकारका कामका बारेमा राम्रोसँग बुझाउन जागरण अभियान शुरु गर्दैछौं’ साहले भन्नु भयो, ‘जागरण अभियान गाउँदेखि केन्द्रसम्म हुनेछ, त्यसक्रममा प्रशिक्षण, भेला, बैठक, सभालगायतका कार्यक्रम हुनेछ ।’

सरकारले गरेका राम्रा काम राम्रोसँग जनताका बीचमा पुग्न नसकेको बताउँदै उहाले जागरण अभियानका क्रममा सो विषयमा बिस्तृत जानकारी दिने बताउनु भयो । यसैगरी पार्टी एकतापछि हुने जागरण अभियानले कार्यकर्तामा थप उर्जा आउने बिश्वास उहाले व्यक्त गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट