मुग्लिन नारायणगढ सडकखण्ड ः तीनवटा नयाँ पुल असारमा सञ्चालन हुने

चितवन समाचार डटकम ,

२८ जेठ । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत तीन वटा पुल असार महिना भित्रमा सञ्चालनमा आउने भएको छ ।

अहिले सञ्चालनमा रहेको पुल साघुरो भएपछि नयाँ निर्माण कार्य दुइ वर्ष अगाडिदेखि शुरु भएको थियो । आउदो भदौ महिनासम्म निर्माण सम्पन्न गर्नु पर्ने ठेक्का सम्झौता भएपनि आउदो असार महिना भित्रै काम सम्पन्न हुन लागेको हो । नारायणगढ मुग्लिन सडक सुधार आयोजनाका सूचना अधिकारी शिव खनालले भन्नु भयो ‘तीन स्थानमा निर्माण भएको पुल अब चालु गर्ने तयारी भएको छ ।’पुलको निर्माण कार्य पूरा भइसकेको छ उहाले भन्नु भयो ‘खाल्टो पुरेर सडक कालोपत्रे गर्ने काम मात्र बाँकी रहेको छ ।’

मुग्लिन सडकखण्डमा सडक विस्ता पछि पुरानै पुल हुदा साघुरो भएर ट्राफिक जामको समस्या हुने गरेको थियो । अहिले मुग्लिन सडकखण्ड ११ मिटर फराकिलो बनेको छ । तर यहाँका पुल ५ मिटर चौडाइ हुदा दोहोरो पास हुन समस्या हुने गरेको छ । यो सडकखण्डमा कुल १८ वटा पुलहरु रहेका छन् । पहिलो चरणको निर्माणमा चारवटा पुल निर्माण गर्न ठेक्का लागेको थियो । तीन वटा पुल निर्माण पूरा भएको छ भने एउटा पुल निर्माणको क्रममा रहेको छ ।

अहिले निर्माण पूरा भएको पुलमा जुगेडी, खानी र मौरी पुल रहेका छन् । यी पुलको ढलान कार्य पूरा भएर यसको वरीपरी भएका खाल्टो पुर्ने र कालोपत्रे गर्ने काम शुरु भएको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिनु भयो ।

अहिले निर्माण भएका पुलको चौडाइ ११ मिटर रहेको छ । यो पुल सञ्चालनमा आएपछि ट्राफिक जाम नहुने सूचना अधिकारी खनालले बताउनु भयो । चालु अवस्थामा रहेको पुल र नयाँ दुवै सञ्चालनमा ल्याएउने छौ सूचना अधिकारी खनालले भन्नु भयो ‘सवारी साधनलाई यात्रा गर्न सहज हुने आयोजनाले जनाएको छ ।’ तीन वटा पुलको कुल लागत १४ करोड रुपियाँ रहेको छ ।

अहिले निर्माण पूरा भएका पुलसंगै यही सडकखण्डको जलवीरेमा निर्माण हुदै गरेको पुलको काम सुस्त गतीमा रहेको छ । दुइपटक डिजाइन परिवर्तन गरेकाले निर्माणमा ढिलाइ भएको खनालले बताउनु भयो । यो पुलको दुइवटा पिल्लर उठाउने काम मात्र भएको छ ।

शेयर गरौ

ताजा अपडेट