चितवन २२ जेठ । चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ ।
सुचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधवारदेखि यो सेवाको शुभारम्भ गरेको हो । रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारिक शुभारम्भ गर्नु भएको छ । सो अबसरमा मेयर वनले नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउन डिजिटल घर नक्सापास सुरु गरिएको बताउनु भयो । उहाले सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण, डिजाइन गर्न, सम्बन्धित घरधनी तथा डिजाइनकर्तालाई नक्सा पासको चरण तथा अवस्थाको बारेमा नियमित जानकारी दिन, डिजाइन तथा डकर्मीको लगत राखी सो सम्बन्धी जानकारी गराउन अनलाइन प्रणाली असाध्यै सहयोगी हुने बताउनु भयो ।
यो सेवाले फाईल हराउने समस्या नहुने, तुरुन्त सेवाग्राहीको विवरण हेर्न मिल्ने, नगरपालिका धाउनु पर्ने झन्झट नहुने,कसको कारणले फाईल रोकियो त्यो थाहा पाईने नगरपालिकाका इन्जिनियर नमेश गुरुङले जानकारी दिनु भयो । एउटा घर सम्पन्न हुँदा चार पटक सम्म नगरपालिका जानु पर्छ । कन्सल्टेन्सीले अनलाईनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गर्छन् ।
नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत रवि तिवारीका अनुसार रत्ननगरमा ४२ फिचर समेटिएको मोवाईल एप, फ्रि वाईफाई, अनलाईनबाट घटना दर्ता, अनलाईन वोलपत्र ,डिजिटल हाजिरीको प्रयोग भईसकेको छ ।


