चितवन २१ जेठ । ईट्टा उद्योगका कार्यपालक अधिकृतहरुलाई एक दिने अभिमूखीकरण सम्पन्न भएको छ ।
बेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत ग्लोबल फियरनेस ईनिसिएटिभको सहयोगमा युथ क्लव नारायणगढले कार्यक्रम आयोजना गरेको हो ।
ईट्टा उद्योगलाई नेपालको कानुन अनुसार सञ्चालन गरि व्यवस्थित बनाउन आवश्यक रहेको छ । श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र ईट्टा उद्योगको भूमिका सम्बन्धी कार्यक्रम संयोजक रामचन्द्र आचार्यको कार्यपत्र प्रस्तुत माथि छलफल भएको थियो ।
राप्ती नगरपालिका वडा नं ९ लालपुरका धरेल ईट्टा उद्योग र गणेश ईट्टा उद्योग तथा खैरहनी नगरपालिका वडा नं २ पटिहानीमा रहेको खनाल ईट्टा उद्योगका कार्यपालक अधिकृत सहभागी भएको कार्यक्रमको अध्यक्षता युथ क्लव नारायणगढका उपाध्यक्ष रामबाबु श्रेष्ठले गर्नु भएको थियो ।
युथ क्लव नारायणगढका पुर्व अध्यक्ष सुरेशकुमार श्रेष्ठले चितवनका ईट्टा उद्योगलाई नमुना बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
खनाल ईट्टा उद्योगका मेनेजर ठाकुर दवाडीले उद्योगी र कामदारको बीचमा बसेर उद्योगलाई व्यवस्थित बनाउन आफ्नोतर्फबाट क्रमशः सुधारात्मक कार्य गर्दै जाने बताउनुभयो । धरेल ईट्टा उद्योगका लेखापाल बालकृष्ण दाहालले श्रमिक मैत्री उद्योग र उद्योग मैत्री नीति हुन आवश्यक रहेको धारणा राख्नु भयो ।
सामाजिक उत्तरदायी र कानुनका सवै न्युनतम मापदण्ड पालना गरेको आदर्श उद्योग स्थापना गर्ने लक्ष्य लिएर बेटर ब्रिक नेपाल परियोजना विगत ४ वर्षदेखि चितवनका ईट्टा उद्योगहरुमा सञ्चालन हुँदै आईरहेको छ ।


