शान्ता अधिकारी
चितवन २० जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माण हुदा स्थानीयलाई उठीवास गर्छ भनेर भ्रम फैलाएको बताउनु भएको छ ।
७ नं. वडाले आयोजना गरेको आर्थिक वर्ष २०७६÷७७ को योजना छनौट तथा वडा भेलालाई सम्बोधन गर्दै आफ्नो नाम मुछेर अफवाह फैलाएको भन्दै आपत्ती जनाउनु भयो । राष्ट्रिय गौरबका योजना बनाउदा कही कतै स्थानीयको सहयोग चाहिए क्षेतीपुर्तिको व्यवस्था हुने भन्दै काम गर्न दिन आग्रह गर्नु भयो । सहयोग रकम जुट्दै गरेको समयमा माहौल खलबल्याउने गरी भएको घटनाले आफूलाई ज्यादै दुःख लागेको बताउनु भएको छ ।
उहाले देशकै गौरव संरचना जसरी भएपनि चितवनमा बनाउन तर्फ लाग्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । अहिले दुई वर्षको प्रगति विवरण हेर्दा धेरै काम सडकमा भएको भन्दै उहाले सधै सडकका विकासमा मात्रै महानगर नलाग्ने भन्दै अब आर्थिक वर्षबाट महानगर उत्पादनमुखी कार्यमा लाग्ने बताउनु भयो । रामपुरमा निर्माण हुदै गरेको गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको बार केही दिन अगाडि अराजक व्यक्तिले भत्काएका थिए ।
वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले स्थानीयको चाहना अनुसार काम गरेकाले नै वातावरण मैत्री वडा घोषणा हुन सफल भएको बताउनु भयो । महानगरमा नै नमुना चिल्डे«न पार्क बनाउनेदेखि सडक, यातायात, बिजुलीलगायतका कामले गती लिएको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष विष्णु महतोले महिलालाई उत्पादनमुखी कार्यमा जोड दिन सकेमा बेरोजगार समस्या हल भएर जाने बताउनु भयो ।
कार्यक्रममा सिर्जनशिल समाज नेपालका अध्यक्ष विनोद ढकाल, क्यान्सर समाज नेपालका श्याम लामिछाने, नेकपाका प्रतिनिधि शंकर लोहनी, पूर्व वडा अध्यक्ष शिव भट्टराई, नेपाली कांग्रेसका वुथ सभापति काशीराम अधिकारीलगायतले आउदो आर्थिक वर्षमा समेट्नु पर्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो । वडा सदस्य सरिता सुवेदी पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो ।


