चितवन समाचार डटकम, १७ जेठ ।
अस्पतालमा होहल्ला गरेको आरोपमा पक्राउ परेका सामाजिक अभियन्ता अर्जुन भुषाललाई प्रहरीले कायलनामा गराएर रिहा गरेको छ ।
अव आईन्दा यसप्रकारले होहल्ला नगर्ने गरी कायलनामा गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानबहादुर मल्लले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
भुषाल संगै पक्राउ परेका अरु पाँचजनालाई पनि प्रहरीले रिहा गरेको छ ।
भरतपुर अस्पतालमा उपचाररत १४ महिने बालकको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै पिडीतपक्ष गएराती आक्रोशित बनेका थिए । सोही क्रममा पीडितको पक्षपोषण गर्दै भुषाल सहित उनको समुह त्यहाँ पुगेको थियो ।
रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छोरा युदिन बस्नेतकोे उपचारका क्रममा ज्यान गएको हो । ज्वरोकोे विरामी भएर गत १४ गते अस्पतालमा भर्ना गरिएका बालकको आमाको दूध सर्किएर ज्यान गएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
परिवारजनले भने चिकित्सकको लापरबाहीले वालकको ज्यान गएको दावी गरेका छन् ।


