चितवन समाचारडटकम, १७ जेष्ठ ।
चितवन आँखा अस्पतालले आफ्नो नयाँ शाखा भरतपुरको वाईपासरोडमा बिस्तार गरेको छ । अस्पतालको नयाँ शाखाको आज शुभारम्भ गरेको हो ।
करिव दुई करोडको लागतमा शाखा स्थापना गरिएको सञ्चालक प्रकाश पौडेलले जानकारी दिनुभयो । बि. सं २०६८ सालमा भरतपुरको अस्पताल रोडमा सेवा थालेको यस अस्पतालले कम्प्युटर प्रविधिबाट जाँच, मोतिया बिन्दुको शल्यक्रिया, मासु पलाएको शल्यक्रिया, आँसु नलीको शल्यक्रिया जस्ता उपचार सेवा दिइरहेको अस्पतालका चिकित्सक प्रा.डा. ऋषिकान्त अधिकारीले जानकारी दिनुभयो ।
शाखा शुभारम्भको अवसरमा जेठ महिनाभरी विरामीको निःशुल्क परिक्षण गरिने जनाएको छ । अत्याधुनिक उपकरण, उच्च स्तरीय प्रविधि सहित शाखाले सेवा दिने प्रा.डा. अधिकारीले जानकारी दिनु भयो । अस्पतालले गरिब असक्तलाई अवस्था हेरेर निःशुल्क उपचार गर्दै आएको समेत जानकारी दिनु भयो । त्यस्तै गरी ८४ वर्ष भन्दा माथिकालाई निःशुल्क उपचार गर्ने जनाएको छ ।
अस्पतालको पहिलो शाखाबाट वार्षिक १७ हजार विरामीले सेवा लिएका थिए । आँखा खराबी हुने कारणहरुमा वायु प्रदुषण, मधुमेह, गलत औषधिको प्रयोग लगायतको कारण हुने गरेको प्रा.डा. अधिकारीले जानकारी दिनु भयो ।


