काठमाडौं, १६ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गर्नुभएको छ ।
शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उहाँहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत छन् ।
यसैगरी पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, स्व. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र स्व. सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ ।
संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले एक हजार १०९ जनाको नामावली सार्वजनिक गरेको थियो । तर, कतिपय व्यक्तिहरु भने पदक ग्रहण गर्न सहभागी भएका छैनन् ।
पदक प्राप्त गरेपछि सभासदहरुले खुसी ब्यक्त गरे । चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेलले ऐतिहासीक संबिधान निर्माणको कार्यमा सहभागी भएर सम्मानित हुन पाँउदा खुसी लागेको बताउनुभयो । संबिधान निर्माणको महत्वपूर्ण अवसर जनताको मायावाट प्राप्त भएको हो, पदक लिदैं गर्दा मैले सारा मतदाता सम्झिएं सबैप्रति अत्यन्त कृतज्ञ छु,, पोखरेलले भन्नुभयो ।


