काठमाण्डौ, २५ वैशाख :
नेपाली कांग्रेसले सबै प्रदेशमा सन्तुलित रुपमा बजेट विनियोजन गर्न आग्रह गरेको छ ।
बुधबार संसदको अर्थ समितिको बैठकमा बोल्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पहुँच र प्रभावको आधारमा नभइ आवश्यकताको शिद्धान्तमा रहेर बजेट तयार पार्न सरकारलाई आग्रह गरे ।
सबै प्रदेशमा सन्तुलित रुपमा बजेट विनियोजन गर्न नसके त्यसले असन्तुष्टि पैदा गर्ने उनको भनाई छ । नागरिकको असन्तुष्टिले पैदा गर्ने परिणाम तर्फ सचेत हुन सरकारलाई उनले चेतावनी दिए ।
प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्न सरकारसँग कार्कीले माग गरे ।
कांग्रेस नेता कार्कीले एक वर्षे कार्यकाल गफमा मात्रै बितेको दावी गर्दै आगामी ४ वर्ष सदुपयोग गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए । उनले बजेटको प्राथमिकता कार्यान्वयनमा विशेष ध्यान दिन पनि अर्थ मन्त्रालयलाई आग्रह गरे ।


