चितवन, ५ बैशाख ।
चितवनमा जारी वन्यजन्तु सप्ताहको अबसरमा पर्यटकीय नगरी सौराहामा विहीवारबाट फोटो प्रदर्शनी सुरु भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको सामुदायिक सीप केन्द्रले आयोजना गरेको सो फोटो प्रदर्शनी तीन दिन सम्म चल्ने सीप केन्द्रका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । फोटो मार्फत वन र वन्यजन्तुको महत्वको वारेमा समुदायलाई जानकारी गराउन फोटो प्रदर्शनी गरिएको अध्यक्ष घिमिरेले बताए । सौराहाका १० जना नेचरगाइडले निकुञ्जमा खिचेका ९७ वटा फोटो प्रदर्शनीमा राखिएको छ । हात्ती,गैंडा,बाघ,भालु,चितुवा,गोही,मयुर,पुतली,जरायो,चित्तल,विभिन्न प्रजातीका चरा लगायतका वन्यजन्तुका आर्कषक फोटोहरु प्रर्दशनीमा राखिएको हो । नेचरगाइडहरु विमिता भण्डारी,लोजिक कृष्ण सागर,नारायण रिजाल,राधाकृष्ण श्रेष्ठ,विष्णु रिजाल,युवानारायण पौडेल,रमोद सुनार,सोम लामा,टेक बहादुर गुरुङ र कुमार महतोले क्यामरामा कैद गरेको फोटो प्रदर्शनीमा राखिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा निकुञ्जको सौराहा सेक्टर प्रमुख ऋषि रानाभाट,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी,बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामाङ,फोटो ग्राफर लोजिक कृष्ण सागर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सीप केन्द्रका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नं ६ का कार्यबहाक वडाध्यक्ष किरण चौधरी,समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेल,वर्ड एजुकेशन सोसाईटीकी अध्यक्ष सरस्वती सेढाई लगायत सौराहाका होटल व्यवसायी तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।


